बुटवल, १५ बैशाख । बिभिन्न मन्त्रीहरुबाटै बालुवाटार ललिता निवास जग्गा काण्डमा नेकपा महासचिव बिष्णु पौडेल ठगिएको अभिव्यक्ति आएपछि नेपाल बिद्यार्थी संघले क्षतीपूर्तिकालागि ‘एक रुपैंया’ अभियान चलाएको छ ।
बालुवाटार ललिता निवास जग्गा काण्डमा मुछिएका नेकपा महासचिव पौडेललाई बचाउ गर्दै सरकारका प्रवक्ताले उहाँले क्षतीपूर्ति पाउनु पर्ने भनाई राख्नुभएको थियो भने अन्य मन्त्रीहरुले समेत बचाउ गर्दै आएका छन् । त्यसलाई व्यङ्ग्य गर्दै नेपाली काँग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघले क्षेतीपूर्ति दिन भन्दै बुटवलमा ‘एक रुपैंया अभियान’ चलाईएको नेपाल बिद्यार्थी संघ बुटवल बहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले बताउनु भयो ।
‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव, रुपन्देही क्षेत्र नम्मर २ वाट निर्वाचित सांसद एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान चलाएको हो । उक्त अभियानमा आईतबार मात्रै ६५५ रुपैंया संकलन भएको उहाँले बताउनु भयो ।
नेपाल बिद्यार्थी संघका नेताहरु नेविसंघकी पुर्व केन्द्रीय सदस्य जमुना ढकाल, दिनेश डिसी, अजय रावल, सरस्वती सास्कृतिक क्याम्पसका स्ववियु सभापति विष्णु पौडेल, लुम्विनी वाणिज्य क्याम्पसका सभापती सुरज क्षेत्री, सिद्धार्थ गौतमबुद्ध क्याम्पसका सभापति महेश शर्मा, लुम्विनी ईन्जिनियरिङ् क्याम्पसका सभापति शमशेर खडका लगायतको टोलीले नेकपा महासचिवको क्षतीपूर्तिकालागि १ रुपैंया सहयोग संकलन गरिएको हो । संकलित रकम ईलाका प्रसाशन कार्यालय बुटवल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलयमा पठाएको बिद्यार्थी नेता अजय रावलले बताउनु भयो ।