बुटवल, १७ बैशाख । बुटवलको दीगो बिकासकालागि बुटवल उपमहानगरपालिकाले एकिकृत शहरी बिकास गुरुयोजना बनाई काम अंगाडी बढाएको नगर प्रमुख शिवराज सुवेदीले बताउनु भएको छ । दीगो बिकासका लक्ष्य सहित सुरु गरिएको बिकास योजनाहरु प्रभावकारी बन्दै गएको पनि उहाँले दावी गर्नुभयो । भौतिक बिकास र मानवीय विकास एकैपटक हुनुपर्ने मान्यता बोकेर गुरुयोजना बनाई काम अंगाडी बढाएको बताउँदै नगरप्रमुख सुवेदीले बुटवल भैरहवा र लुम्बिनीलाई मेघा सिटीका रुपमा बिकास गर्ने रणनीति अनुसार नगरपालिका अंगाडी बढेको भनाई राख्नुभयो ।
रिपोटर्स क्लवले मंगलबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आफूले नेतृत्वगरेपछि बुटवलको बिकास योजना सहि बाटोमा अंगाडी बढेको दावी गर्दै तत्काल नभएपनि भविश्यमा राम्रो रिजल्ट देखिने जिकिर गर्नुभयो । उहाँले बुटवलको बिकासकालागि पर्यटन, कृषि, व्यापार र उद्योगलाई आधार तय गरि यी चारवटै क्षेत्रको बिस्तार सहितको बिकासमा आफूले काम गरिरहेको बताउनु भयो । उहाँले नगरपालिकाले बुटवलको बिकासकालागि पहिलो प्राथमिकता पर्यटनलाई दिएको बताउँदै पर्यटन प्रवद्र्धनकालागि गन्तव्यहरुको पहिचान तथा ती क्षेत्रहरुको व्यबस्थित बिकासमा लागेको जानकारी गराउनु भयो ।
प्रदेशको अस्थायी राजधानी बुटवल बनेपछि ट्राफिकिङ् बढ्नुकासाथै पार्किङ्को समेत समस्या छ । नगरप्रमुख सुवेदीले अबको तीन वर्ष भित्र बुटवलमा पार्किङ्को समस्या समेत समाधान गर्ने गरि पार्किङ् स्थल निर्माण गरिने र पूर्वाधार निर्माणमा समेत गुणस्तर कायम गरिने बताउनु भयो ।