‘प्रेसलाई नियन्त्रण र निर्देशित गर्न खोजिँदै छ’

1.3K

‘प्रेसलाई नियन्त्रण र निर्देशित गर्न खोजिँदै छ’

बुटवल, २० बैशाख । नेपाली प्रेसलाई नियन्त्रण र निर्देशित गर्न खोजिएको सरकारलाई आरोप लागेको छ । संविधानमा प्रेसलाई पूर्ण स्वतन्त्रा प्रदान गरिएपनि ऐन कानुन बनाउने क्रममा सरकारले प्रेसलाई नियन्त्रण र आफू अनुकुल निर्देशित गर्न खोजिएको शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको ‘प्रेस स्वतन्त्रता, लोकतन्त्रको आधार’ बिषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले पत्रकारिता समाजको अभिन्न अंग भएको बताउँदै जिम्मेवार पत्रकारितामा जोड दिनुभयो । उहाँले संविधानमा उल्लेख गरिएका ३१ वटा मौलिक अधिकार मध्ये प्रेस स्वतन्त्रता पनि रहेकाले सरकारले पनि हदैसम्म सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै प्रदेश सभा सदस्य रमा अर्यालले सरकार प्रेस स्वतन्त्रता प्रति निरंकुश बनेको बताउँदै प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि सरकारलाई नियन्त्रण गर्न नसकिएको स्वीकार गर्नुभयो । ‘हामीले तरकारीमा नुन बढी भयो भने पानी थप्नुस भन्न सक्छौं, बिल्नो भयो भने नुन थप्नुस भन्न सक्छौं, हामी आफै थप्न सक्दैनौं ।’ उहाँले भन्नुभयो–‘दुई तिहाईको सरकार छ, सरकारको डाडुपन्यो हाम्रो हातमा छैन ।’ उहाँले अहिले नेकपाको दुई तिहाईको सरकार भएकाले नेपाली काँग्रेस बोल्नु र नबोल्नुमा कुनै अर्थ नहुने बताउनु भयो ।

प्रधानमन्त्री केपी ओलीले धेरै अधिकार आफैमा राख्नु भनेको निरंकुश बन्ने प्रयास भएको दावी गर्दै सरकारले प्रेससंगै नागरिकका सबै अधिकार कुण्ठित गर्दै अंगाडी बढेको बताउनु भयो । त्यस्तै संवैधानिक व्यबस्था अनुसार प्रदेशलाई दिनुपर्ने अधिकार समेत संघीय सरकारले आफूले राखेर प्रदेश सरकारलाई समेत संकुचित पार्ने काम गरेको आरोप लगाउनु भयो ।

त्यस्तै अर्का प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले सरकारको हस्तक्षेपकारी नीतिले पत्रकारिता क्षेत्र साँघुरिँदै गएको बताउनु भयो । उहाँले स्वतन्त्र प्रेसकालागि पत्रकार पनि राजनीतिक दलको गोटि नबनी निश्पक्ष बन्न आग्रह गर्नुभयो । त्यस्तै प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रेस स्वतन्त्रता कुण्ठित गरेर कुनै पनि सरकार अंगाडी बढ्न नसक्ने बताउँदै सरकारले ल्याएको प्रकाशन तथा प्रशारण सम्बन्धि विधेयकमा केही समस्या भए त्यसलाई संशोधन गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपाधयक्ष गोबिन्द खनालले प्रेस स्वतन्त्रताको पक्षमा सरकार निकै असहिष्णु बनेको आरोप लगाउनु भयो । उहाँले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र नै नहुने बताउँदै सरकारले आलोचना सहन गर्नु सक्नुपर्ने बताउनु भयो । पूर्वसांसद बिनोद पहाडीले सरकारबाट संस्थागत रुपमै मिडियामात्रै आक्रमण भएको बताउँदै तीनै तहका सरकारलाई प्रेस स्वतन्त्रताको पक्षमा गम्भिर बन्न आग्रह गर्नुभयो ।

काँग्रेस नेता युवराज गिरीले सत्ता उन्मादका कारण प्रेससंगै नागरिक अधिकार खोस्ने काम भएको बताउँदै आज सत्तामा भएका मान्छे भोली सत्ता बाहिर पनि बस्नुपर्छ भन्ने हेक्का राख्न आग्रह गर्नुभयो । त्यस्तै नेकपाका नेता युवराज घिमिरेले प्रेस स्वतन्त्रता अनिबार्य सर्त भएको भन्दै जवाफदेही हुनु पर्ने भन्दै प्रेस स्वतन्त्रताकालागि प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले सरकारले लिएको प्रेस नीति नै गलत रहेको बताउँदै सरकार मिडियालाई अंकुस लगाउन चाहेको आरोप लगाउनु भयो ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रममा मावन अधिकार आयोगकी सेली गौतम, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी, अधिवक्ता कृष्ण पोखरेल, समाजका सचिव अर्जुन ज्ञवाली लगायतले परिवर्तनकालागि पत्रकारले खेलेको भूमिका बिर्सेर अहिले तीनै दलका सरकारबाट स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजिनु दुर्भाग्य भएको बताउनु भएको थियो ।