
बुटवल, २१ बैशाख । प्रदेश पाँच सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले यातायात क्षेत्रलाई व्यवस्थित गर्ने गरी ऐन ल्याउने तयारी भैरहेको बताउनु भएको छ । प्रदेशको एकल अधिकार सुचीमा यातायात तथा परिवहन सम्बन्धी व्यवस्था रहेकाले प्रदेश पाँचमा यातायात क्षेत्रलाई व्यवस्थित गर्नेगरी ऐनको मस्यौदा तयार भइसकेको उहाँले बताउनु भयो ।
चेतना अभियान नेपालले शनिबार रुपन्देहीको तिलोत्तमामा आयोजना गरेको आधुनिक प्रविधियुक्त ट्राफिक व्यवस्थापन विषयक अन्तक्र्रियामा बोल्दै मन्त्री चौधरीले प्रदेश सरकारले तयार गरेको ऐनको मस्यौदा आइतबारको प्रदेशसभाको बैठकमा टेबुल गरिने जानकारी दिनुभयो । “ऐन निर्माण गरी यसको नियमावली बनिसकेपछि प्रदेश पाँचको यातायात क्षेत्र व्यवस्थित हुन्छ, हामीले ऐनमै सार्वजनिक यातायात प्राधिकरण गठनको व्यवस्था समेत गर्दै छौं”–मन्त्री चौधरीले भन्नुभयो ।
उहाँले सहरी सडकलाई टिप्परमुक्त, इ–रिक्सालाई राजमार्ग प्रयोगमा नियन्त्रण र छाडा चौपायाको नियन्त्रण अभियानलाई प्रदेश सरकारले प्रभावकारी रुपमा अघि बढाउने बताउनु भयो । पाँच नम्बर प्रदेशमा हाल ११ हजार किलोमिटर सडक रहेको र पाँचवर्षमा दोब्बर बनाउने लक्ष्य लिइएको उल्लेख गर्दै मन्त्री चौधरीले तर अरवौं रकम खर्चेर बन्ने सडकमा सार्वजनिक सवारीका साधन नगुड्दा यात्रुहरुले सेवा पाउन नसकेको बताउनु भयो । “सडक बन्ने, तर त्यसको उपयोगिता भएन भने त्यसको कुनै अर्थ रहँदैन, सडक निर्माण सँगसँगै सार्वजनिक यातायातलाई रुटपरमिट दिने कुरालाई पनि अव प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ”–उहाँले भन्नुभयो ।
उहाँले यसैवर्षभित्र प्रदेश सरकारले विद्युतीय र पर्यटकीय बस सञ्चालन गर्ने र यसबाट लुम्बिनी भ्रमण वर्षलाई पनि सहयोग पुग्ने बताउनु भयो । यातायात सम्बन्धी ऐन र नियमावली बनिसकेपछि ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाइने उहाँको भनाई छ । त्यस अवसरमा प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले सवारी साधनको चाप बढ्दै गएको अवस्थामा दुर्घनाको दर पनि बढ्दै गएको भन्दै ट्राफिक प्रहरीलाई साधनस्रोत सम्पन्न बनाउनुपर्ने खाँचो औंल्याउनु भएको थियो । अर्का प्रदेश सभा सदस्य फकरुद्धिन खाँले ट्राफिक नियम विपरितका गतिविधि नियन्त्रण गर्नुपर्ने र सडक पूर्वाधार विकासमा अझै जोड दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा यातायात व्यवस्था कार्यालयका प्रमुख मुक्ति पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, यातायात व्यवसायी दधिराम खरेल, चेतना अभियानका अध्यक्ष टिकाराम भट्टराई, सावित्री टण्डन लगायतले सबैले कानुनको पालना गरे दुर्घटना न्युनीकरण गर्न सकिने बताउनु भएको थियो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इन्जिनियर कृष्ण थापाले मादक पदार्थ सेवन, ट्राफिक नियमको पालना नगर्नु, अव्यवस्थित पार्किङ, सानो सडक जस्ता कारणले दुर्घटना बढ्दै गएको बताउँदै यसको समाधानका लागि सडक पूर्वाधार सँगसँगै ट्राफिक बत्ती, ट्राफिक चिन्हहरुजस्ता कुराहरुमा ध्यान दिन सुझाव दिनुभयो ।