
खेमानन्द पाठक/कपिलबस्तु, २१ बैशाख । नेपाली काँग्रेसले कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ मा वडा भेला गरेको छ । त्यस अवसरमा बोल्ने वक्ताहरुले पार्टी गुटउपगुटका कारण कमजोर भएको भन्दै गुटगत राजनीतिको अन्त्य हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कपिलबस्तुका जिल्ला सभापति तथा पूर्व सिचाई मन्त्री सुरेन्द्रराज आचार्यले अहिलेको दुई तिहाईको सरकार अधिनायकवाद र सर्वसत्तावादको बोटोमा अंगाडी बढेको आरोप लगाउनु भयो । उहाँले स्वतन्त्र न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका लगायतमा इकाईमा सरकारले कब्जा जमाउन खोजेको आरोप लगाउँदै राज्यका तीन वटै स्वतन्त्र ईकाईमा सरकारले स्वतन्त्र भूमिका निर्वाह गर्न नदिएर हस्तक्षेप गरेको उल्लेख गर्नुभयो ।
त्यस्तै पार्टीका पूर्व केन्द्रीय सदस्य तथा भारतकालागि पूर्व राजदुत दीपकुमार उपाध्यायले पार्टीको संगठन बिस्तार तथा सुदृढिकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पार्टीलाई एकिकृत रुपमा अगाडि बढाउनका लागि वडा भेलालाई तिब्रता दिएकोले सम्पुर्ण वडाका नेता तथा कार्यकर्ता एकजुट हुन आवश्यक रहेको बताउनु भयो । त्यस्तै पूर्व जिल्ला सभापति राजेश आचार्यले आम कार्यकर्तामा रहेको गुटउपगुटको आशंकलाई जरैदेखि उखेल्नु पर्ने र निर्वाचनमा हुने घात अन्तरघाट अन्त्य हुनु पर्ने भनाई राख्नुभयो ।
पार्टीका वडा सभापति गोविन्दप्रसाद चौधरीको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य दुर्गा सेन, काँग्रेस जिल्ला सदस्य रविबहादुर काफ्ले, परमेश्वर पाठक, नेता पुरन थारु, क्षेत्रीय उपसभापति शालिकराम चौधरी, बाँणगंगाका नगरप्रमुख मंगलप्रसाद थारु, महिला संघकी केन्द्रीय सदस्य ईन्दिरा भट्टराई, कपिलबस्तु अध्यक्ष मीना केसी, तरुण दलका जिल्ला अध्यक्ष शक्तिसिंह ठकुरी, बाँणगंगाका कार्यवाहक नगर सभापति बिष्णु थापा, लक्ष्मण कंडेल, वडा सचिव सुवास पौडेल लगायतले भनाई राख्नुभएको थियो ।