कपिलबस्तु, २२ बैशाख । नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गर्नुभएको छ । महामन्त्री कोईरालाले केपी ओलीको दुई तिहाई बहुमत प्राप्त सरकारले एक वर्षमा माखो पनि मार्न नसकेको बताउँदै बाँकी ४ वर्ष पनि त्यसै विताउने बताउनु भयो ।
नेपाली काँग्रेस साविकको क्षेत्र नं. २ कपिलबस्तुले मायाँदेवी गाउँपालिकामा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले पूरा गर्न नसक्ने सपना जनतालाई बाडेर झुटको खेतीमा रमाईरहेको आरोप लगाउनु भयो । ‘यो सरकार विफल भयो, बाँकी ४ बर्षमा पनि केही गर्दैन ।’ उहाँले भन्नुभयो–‘सरकारले जनतालाई पूरा गर्न नसक्ने सपना मात्रै बाँडीरहेको छ ।’ किसानलाई सिचाई गर्न पानी दिन नसक्ने सरकारले पानी जहाज चलाउने कुरा हास्यास्पद रहेको बताउँदै उहाँले नागरिकका दैनिकीका समस्या समाधान गर्ने तर्फ अग्रसर हुन आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसले सदनमा प्रस्तुत गरेको भूमिका आशा गरे अनुसार नभएको स्वीकार गर्दै सदनमा उठाएका कुरापनि मिडियाले वेवास्ता गर्ने गरेको बताउनु भयो । फरक प्रसंगमा महामन्त्री कोईरालाले पार्टीमा साँचो एकता हुने हो भने अवका निर्वाचनमा काँग्रेसलाई कसैले हराउन नसक्ने दावी गर्नुभयो । उहाँले मुलुकमा भएका बिकास काँग्रेसकै पालामा भएको जिकिर गर्दै मुलुकको बिकासकालागि नेपाली काँग्रेस पर्यावाची भएको दावी गर्नुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरीले अहिलेको सरकार भ्रष्टाचार र वेथितीमा चुर्लुम्म डुबेको बताउँदै दुई तिहाईको सरकार आफै सकिएर जाने दावी गर्नुभयो । सोही कार्यक्रममा संविधान सभा सदस्य ईन्द्रवती यादव, नयाँ शक्तिका केन्द्रीय सदस्य सुरेन्द्र तिवारी, मधेशवादी नेता चक्रधारी पाण्डेय, फोरमका अब्दुल रउफ सहित बिभिन्न पार्टी परित्याग गरि २५० जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी महामन्त्री कोईरालाले पार्टी प्रवेश गराउनु भएको हो ।
पार्टीका क्षेत्रीय सभापति अब्दुल मन्नान खांको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य अत्तर कमाल, पूर्वमन्त्री दीपकुमार उपाध्याय, अफताव आलम, जिल्ला सभापति सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताव शाहा, प्रदेश सांसद बसिउद्धिन खान ,पुर्व जिल्ला सभापति राजेश आचार्य, सुधाकर पाण्डे,नेपाल विद्यार्थी संघका निबर्तमान महामन्त्री कुन्दन राज काफ्ले, सहमहामन्त्री प्रकाश घिमिरे,जिल्ला सदस्य परमेश्वर पाठक , नेपाल तरुण दल कपिलवस्तु जिल्ला अध्यक्ष शक्ति सिंह ठकुरी, क्षेत्रिय सभापति गिरिजेश पाण्डेय नेपाल जिविसका कार्यकारणी उपाध्यक्ष रमेश चन्द्र भुसाल जिल्ला सचिव हुमाकान्त खनाल मोहम्मद वोजिह अरसद लगायतले धारणा राख्नुभएको थियो ।