बुटवल, बैशाख २७ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अबको चुनावमा काँग्रेसलाई पहिलो पार्टी बनाउनको लागी भातृसंस्थाहरुलाई क्रियाशिल र सशक्त बनाउनुु पर्ने बताउनु भएको छ । नेपाल तरुणदल, नेपाल विद्यार्थीसंघ, महिलासंघ लगायतको छिटो भन्दा छिटो अधिवेशन गरेर क्रियाशिल बनाउनको लागि पार्टी सभापति संग बारम्बार छलफल भईरहेको बताउदै अव ढिला नगरी अधिवेशन गरिने बताउनु भएको छ ।
पार्टीले अवको चुनावमा २५ लाख थप युवा मतदाता थपिने हुदा उहाँहरुलाई नेपाली काँग्रेसमा कसरी आर्कषित गर्ने भन्ने तर्फ बेलैमा ध्यान दिएर युवा आर्कषित कार्यक्रम ल्याउनु पर्नेे बताउनु भएको छ । महामन्त्री कोइरालाले पार्टीमा एक भएर अंगाडी बढ्ने हो भने नेपाली काँग्रेसलाई कसैले पनि हराउन नसक्ने बताउँदै उहाँले नेता कार्यकर्ता एक हुन पनि आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसको आदर्श, नीति राम्रो रहेको, कार्यकर्ता कुशल भएको र पार्टी लामो ईतिहास रहेकाले पहिलो पार्टी बनाउन सकिने भनाई राख्नुभयो । नेपाली कांग्रेस बुटवल नगर समितिले आज( शुक्रवार )बुटवलमा आयोजना गरेको नगर सम्मेलनको उद्घाटन गर्दै महामन्त्री कोइरालाले अव नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा टिकटको जिम्मा स्थानीय तहलाई नै दिनुपर्ने भन्दै त्यसो भए अन्तरघात हुने खतरा कम हुने धारणा राख्नुभयो ।
कांग्रेसका प्रतिनिधिहरुले धेरै भन्दा धेरै जनताको मत जित्न पनि टिकटको जिम्मा स्थानीय स्तरमा दिए त्यो कांग्रेसकै लागि हितकर हुने महामन्त्री कोइरालाको भनाई छ । उहाँले नेपाली कांग्रेसकोे समाजबाद धनीलाई गरिव नभै गरिवलाई पनि धनी वनाउने हो भन्दै वीपीले लिएको समाजबादको नीतिलाई अझै जनतासम्म पु¥याउनु पर्ने बताउनु भयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँणले वाम गठबन्धनको सरकार गठन भएपछि देशमा प्रशासन भएको महसुस जनताले गर्न सकेका छैनन् । उहाँले भन्नुभयो– ‘लोकतान्त्रिक मूल्य र मान्यता विपरित वर्तमान सरकार अघि बढेकाले मुलुकमा शान्ति सुरक्षाको अवस्था इतिहासमा सबैभन्दा फितलो बनेको छ ।’ सरकारको कुनै पनि काम सन्तोषजनक गर्न नसकेपछि सरकारको विरोध गर्नुपरेको उहाँले प्रष्ट पार्नुभयो ।
उहाँले वाम गठबन्धनमार्फत देशमा एक दलीय कम्युनिष्ट शासन स्थापना गर्न खोजिएको आरोप पनि लगाउनु भयो । काण्डै काण्डको सरकारको अव स्थानिय तह देखी केन्द्र सम्म भण्डाफोर गर्नु पर्ने बताउनु भयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले पार्टीभित्रको कुरा पार्टीभित्रै राख्ने परम्परा बसाउन आग्रह गर्दै कांग्रेसलाई एकताबद्ध बनाउन अव पार्टीको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो । उहाँले अहिले आम कार्यकर्तामा भएको गुट उपगुटको आशंका छ त्यसलाई जरै देखि उखेल्नु पर्ने बताउँदै उहाँले पार्टिमा हुने अन्तर्घातको अन्त्य गर्न आवश्यक रहेको जिकिर गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ, सार्वजनिक लेखा समितीका सभापती भरतकुमार शाह, प्रतिनिधी सभा सदस्य प्रमोद यादव, नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. २ का सभापती हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, बिमलराज भट्टराई ,सचिव ज्योति भण्डारी, सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, महिला संघकी जिल्ला सभापति गंगा शाही लगायतले बोल्नु भएको थियो ।