तिलोत्तमा नगरपालिका विरुद्ध जनजाति महासंघ आन्दोलनमा

611

तिलोत्तमा नगरपालिका विरुद्ध जनजाति महासंघ आन्दोलनमा


बुटवल,२८ बैशाख । तिलोत्तमा नगरपालिकाले आदिवासी जनजाति उत्थान र विकास कार्यक्रमका लागि विनियोजित गरेको बजेट कार्यक्रम सञ्चालन पनि नगर्ने र गर्न पनि नदिई बेवास्ता गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरपालिका समन्वय परिषद्ले चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । आज(शनिबार) रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो ।

पत्रकारहरुका बीचमा नेपाल आदिवासी जनजाति महासंघ तिलोत्तमा नगरका अध्यक्ष घनश्याम थापा (शंकर)ले तिलोत्तमा नगरपालिकाले आदिवासी जनजातिका लागि विनियोजन गरेको बजेट सुनियोजित रुपमा फ्रिज गराउन खोजेको बताउनु भयो । नगरपालिकाका मेयर र प्रमूख प्रशासकीय अधिकृतको संकुचित मनसायका कारण जानाजानी बजेट का¥यान्वयनका लागि तदारुकता नदेखाउने, अल्झाउने र अल्मल्याउने काम मात्रै भइरहेको महासंघको आरोप छ । कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेश गर्दा समेत नगरपालिका आफैले कार्यक्रम गर्ने भनेर आफुहरुलाई फर्काएको अध्यक्ष घनश्याम थापाको भनाई छ ।

‘समय रहँदासम्म नगरपालिका आफैले कार्यक्रम गर्छु भन्ने अहिले आर्थिक वर्ष सकिन थालेपछि नगरका प्रमूख प्रशासकिय अधिकृतले सञ्चारमाध्यमहरुमा आदिवासी जनजातिलाई कार्यक्रमका लागि आह्वान गर्दा पनि आएनन् भनेर स्पष्टिकरण र अन्तरवार्ता दिंदै हिड्नु लज्जास्पद् कुरा हो’ महासंघका अध्यक्ष थापाले भन्नुभयो ‘आर्थिक वर्ष २०७५÷०७६ मा जनजातिका लागि तिलोत्तमा नगरपालिकाबाट जम्मा रु.४० लाख रकम विनियोजित भएकोमा त्यसबाट पनि काटेर अहिले जम्मा रु.१८ लाखको मात्रै कार्यक्रम गर्न हामीलाई प्रस्ताव आएको छ, त्यो पनि अन्तिम समयमा ।’

महासंघ नगर समन्वय परिषद्ले आदिवासी जनजाति समुदायका लागि विनियोजित गरेको रकम आफैमा अपुग रहेको, त्यति थोरै बजेट पनि सञ्चालन गर्न नदिइएको, यस विषयमा प्रमूखलाई ज्ञापन पत्र र ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको र प्रशासकिय अधिकृतले कार्यक्षेत्र नाघेर सञ्चारमाध्यमको प्रयोग गरि भ्रम छर्न खोजेकाले सशक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य भएको महासंघले सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेछ छ ।

घोषित आन्दोलनका कार्यक्रम अनुसार यहि बैशाख २९ देखि जेठ ३ गतेसम्म यस विषयमा सरोकारवालासंग छलफल तथा अन्तरक्रिया गर्ने,जेठ ४ गतेदेखि जेठ ७ गतेसम्म तिलोत्तमा नगर कार्यालयमा धर्ना तथा विरोध सभा गर्ने र यदि यसलाई पनि बेवास्ता गरेमा नगरपालिकामा ताल्चा नै लगाउने महासंघले जनाएको छ ।
संकुचित व्यवहार र यथास्थितिमा अधुरो र अपुग बजेटबाट लक्ष्यित वर्ग अन्तर्गतको कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकिने र नगर्ने पनि महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो समस्या र परिस्थितिको जिम्मेवार र जवाफदेही स्वयं तिलोत्तमा नगरपालिका हुने उनीहरुको तर्क छ । २०६८ को जनगणना अनुसार १ लाख १ सय ४९ जनसंख्या रहेको तिलोत्तमा नगरपालिकामा करिब आधा जनसंख्या आदिवासी जनजाति मगर, थारु, गुरुङ, नेवार, भूजेल, कुमाल समुदायको रहेको छ । आधा जनसंख्याको सशक्तिकरण र विकासलाई वेवास्ता गर्दै नगरपालिकाले एकलौटी रुपमा अगाडि बढ्न खोजे नगरले लिएको लक्ष्य र समृद्धि यात्रामा बाधा पर्ने कुरामा समेत महासंघले सचेत गराएको छ ।

सो अवसरमा नेपाल मगर संघ तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम बहादुर थापा, तमुह्युल छोंजधी गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष नरजङ्ग गुरुङ लगायत आदिवासी जनजाति अगुवाहरुको सहभागिता रहेको थियो ।