बुटवल, ३० बैशाख । २६४३ औं बुद्ध जन्म उत्सव तीन दिवसीय कार्यक्रम अहिंसा तथा शान्तिको कामना सहित मनाउने भएको छ । विश्वशान्तिका महानायक भगवान गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र महापरिनिर्वाण (मृत्यु) भएको तीन वटा संयोग एकै दिन बैशाख पूर्णिमामा पर्ने भएकाले सो अवसरमा रुपन्देहीमा पनि अन्तर्राष्ट्रिय बुद्ध परियती उदय विहार तिलोत्तमा–४ डिंगरनगरको आयोजनामा दिवस मनाउन लागिएको हो ।
सो अवसरमा विहारले जेठ २ गते शान्ति ¥याली, जेठ ३ गते मंगलमैत्री कामना सहित पूण्यदान र जेठ ४ गते शान्तिदीप प्रज्वलन तथा दिवस मूल समारोह कार्यक्रम गरेर मनाउन लागिएको अन्तर्राष्ट्रिय बुद्ध परियती उदय विहारका महासचिव यमबहादुर थापाले जानकारी दिनुभयो । जन्म, मृत्यु र ज्ञान प्राप्त एकै दिन बैशाख शुक्ल पूर्णिमा भएकाले २६४३ औं बुद्ध जन्मउत्सव, २६०८ औं बोधी ज्ञान लाभ तथा २५६३ औं महापरिनिर्वाण दिवस एकै दिन मनाउने गरिएको विहारका भिक्षु आनन्द भन्तेले जानकारी दिनुभयो ।
बैशाख पूर्णिमालाई मध्येनजर गर्दै सोमबार विहार परिसरमा सरसफाई गरिएको छ । हरिओम विकको संयोजकत्वमा स्थानियहरुको सहभागितामा सरसफाई गरिएको हो । दिवसकै अवसरमा विहारले लखनचोक चौराह देखि योगिकुटी चोकसम्म मूख्य सडकका दायाँवायाँ पञ्चशिल (बुद्ध झण्डाहरु) राख्ने कार्य सम्पन्न गरेको छ । दिवसलाई सफल पार्न बुद्ध परियती युवा संघ, नेपाल मगर बुद्ध सेवा समाज तिलोत्तमा, रुपन्देही, कपिलबस्तु, र नेपाल मगर संघ तिलोत्तमा रुपन्देहीले सघाइरहेको विहारका धनीराम थापाले जानकारी दिनुभयो ।
तिलोत्तमा–४ डिङ्गरनगरमा रहेको विहार क्षेत्रमा रहेका थेरवादी बुद्धधर्म सम्पदा मान्नेहरुको आस्थाको केन्द्र हो । उक्त विहार वि.सं. २०५९ सालमा स्थापना गरिएको थियो । विहारमा ध्यान कुटी, सिमा गृह, धम्म हल, विपश्यना शिविर हल, आवाश गृह, पार्क लगायतका संरचनाहरु निर्माण गरिएका छन् । उदय विहारले कक्षा १ देखि १० सम्म आवासीय रुपमा परियती शिक्षा समेत सञ्चालन गर्दै आएको छ ।