
बुटवल, ३० बैशाख । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रयाप्त कर्मचारी व्यबस्थापन नहुँदा प्रदेशको बिकासमा समस्या भएको बताउनु भएको छ । उहाँले प्रदेशमा ३ हजार कर्मचारी आवश्यक भएपनि हाल १ हजार मात्रै कर्मचारी रहेकाले कर्मचारी अभावका कारण अपेक्षाकृत काम गर्न नसकिएको स्वीकार गर्नुभयो ।
सोमबार प्रदेश पाँच प्रदेश समन्वय परिषदको दोस्रो बैठक उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले त्यसका बावजुध पनि कानुन निर्माणको काममा अन्य प्रदेश भन्दा अंगाडी रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश बिकासका दृष्टिकोणले पनि राष्ट्रिय औषत भन्दा माथि रहेको र आर्थिक बृद्धिदर ३.१ रहेको उल्लेख गर्नुभयो । उहाँले स्थानीय तह र प्रदेश सरकार बिच समन्वयको अभाव हुँदा राजश्व संकलनमा समेत द्विविधा रहेकाले प्रदेश सरकार र स्थानीय तह बिच प्रयाप्त समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रदेश समन्वय परिषदको दोस्रो बैठकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव किशोर जोशीले क्रमशः प्रदेश पाँचको आवधिक योजना, प्रदेश समन्वय परिषद र बजेट तर्जुमा तथा कार्यान्वयन, आर्थि अनुशासन र वित्तीय जवाफदेहीताका सवालहरु विषयक कार्यपत्र प्रस्तु गर्नुभएको थियो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै उच्च आर्थिक बृद्धि सहित समृद्ध अर्थतन्त्र, रोजगारी सहित जीवन निर्वाहकालागि प्रयाप्त आम्दानी, आधारभूत भौतिक सुविधाको उपलब्धता, सुरक्षा र स्वच्छ वातावरण, कायम रहने समृद्ध प्रदेश सरकारको दीर्घकालिन सोच रहेको बताउनु भयो । उहाँले समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समावेशी समुन्नत र दीगो बिकासका माध्यमबाट आर्थिक बृद्धिदरलाई जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने तथा सामाजिक न्यायमा आधारित रहि अवसरको सिर्जना, उत्पादन बृद्धि, रोजगारी प्रवद्र्धन र गरिबी निवाहरण गर्ने सरकारको योजना र लक्ष्य रहेको बताउनु भयो ।
उहाँले प्रदेश र स्थानीय तह बिच समन्वयमा कृषि उद्योग र पर्यटन क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गरि आर्थिक बृद्धिदर बढाउने, आवश्यक भौतिक पूर्वाधार निर्माण तथा बिस्तार गर्ने, गुणस्तरीय शिक्षा र स्वास्थ्य बिस्तार गरि मानवीय पुँजी निर्माण गर्ने, समाजिक समावेशिता र लैंगिक समता प्रवद्र्धन गर्ने, प्रभावकारी विपद् व्यबस्थापन र जलवायु परिवर्तन अनुकुलित बिकास गर्ने, बिधिको शासन कायम गर्दै सुशासन प्रत्याभूती गर्ने सरकारको योजनागत रणनीति रहेको उल्लेख गर्नुभयो ।
उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरु, मन्त्रालयका सचिवहरु, प्रदेश पाँचका १२ वटै जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरु सहभागि थिए ।