शाइन र भार्गव बिकास बैंक बिच मर्जरको प्रारम्भिक सहमति

656

शाइन र भार्गव बिकास बैंक बिच मर्जरको प्रारम्भिक सहमति

बुटवल, १ जेठ । बुटवलमा प्रधान कार्यालय रहेको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक र नेपालगञ्जमा प्रधान कार्यालय रहेको भार्गव बिकास बैंक बिच मर्जरको प्रारम्भिक सहमति भएको छ । मंगलबार मात्रै दुई बैंक बिच मर्जर सम्बन्धि सहमति पत्रमा हस्ताक्षर भएको हो । उक्त सहमति पत्रमा शाइनको तर्फबाट सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र भार्गवको तर्फबाट सञ्चालक समिति अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गर्नुभएको छ ।

शाइनको रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्, प्यूठान, बाग्लुङ र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र भएको “ख” वर्गको बिकास बैंकको रुपमा विगत १० वर्षदेखि सञ्चालनमा छ । त्यस्तै भार्गवको पाँच जिल्ला कार्यक्षेत्र रहेकोमा हाल बाँके, बर्दिया र दाङमा शाखा कार्यालय सञ्चालनमा छन् । दुई बैंकको मर्जर पश्चात कारोवारमा उल्लेख्य बृद्धि हुने अपेक्षा गरिएको छ ।

शाइनले रुपन्देहीको सिद्धार्थनगरमा केन्द्रीय कार्यालय रहेको पूर्णिमा बिकास बैंकसंग मर्जरकालागि नेपाल राष्ट्र बैंकबाट यस अंगाडी नै सैद्धान्तिक सहमति प्राप्त गरिसकेको छ । दुई बैंक मर्जरपछि पनि संस्थाको नाम ‘शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड’ रहने र प्रधान कार्यालय बुटवलमै रहने सहमति भएको छ । त्यस्तै सञ्चालक समितिको अध्यक्षमा शाइनकै अध्यक्ष श्रेष्ठ रहनुहुनेछ ।

शाईनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत र भार्गवका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख हुने सहमति पत्रमा उल्लेख गरिएको छ । शाइन, भार्गव र पूर्णिमा गरी तीन वटा बैंक आपसमा मर्जर पश्चात केन्द्रीय कार्यालय, ६८ शाखा कार्यालय तथा एउटा एक्सटेन्सन कार्यालय कायम हुनेछन् ।