प्रदेश पाँचको चौथो अधिवेशन सुरु

1.3K

प्रदेश पाँचको चौथो अधिवेशन सुरु


बुटवल, जेठ । प्रदेश नं. ५ को चौथो अधिवेशन विहिवारदेखि प्रदेशको अस्थायी राजधानी वुटवलमा सुरु भएको छ । चौथो अधिवेशनको पहिलो वैठकमा बोल्दै प्रदेश सांसदहरुले प्रदेशका १२ वटै जिल्लालाई समानुपातिक हिसावले बजेट विनियोजन गर्न आग्रह गरेका छन् । उनीहरुले बिनियोजित बजेट कार्यान्वयनलाई प्राथमिकतामा राख्न समेत सरकारसंग माग गरेका छन् ।

बजेट अधिवेशनका रुपमा समेत लिइने यो अधिवेशनको क्रममा बोल्दै प्रदेश सांसदहरुले प्रदेश सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको सम्मृद्धि हुने भएकोले त्यसमा प्राथमिकता दिन आग्रह गरेका हुन् । किसानका लागि खेतीको समय आएकोले सिंचाई, मलखाद समयमै उपलव्ध गराउन समेत प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

नेकपाका सांसद कृष्णध्वज खड्काले प्रदेश पाँचलाई नमुना प्रदेशको रुपमा विकास गर्ने कार्ययोजना सहितको बजेट ल्याउनुपर्ने बताउँदै त्यसमा सत्ता पक्ष र विपक्ष नभनी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले सबै दलहरु मिलेरै मुलुकमा पटकपटक राजनीतिक परिवर्तन भएपनि परिवर्तनलाई संस्थागत गर्ने क्रममा दलहरु चुकेको बिगतको तितो अनुभव सुनाउँदै पछिल्लोपटक भएको राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि संस्थागत गर्न सबै दल मिलेर जानुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले ग्रामिण क्षेत्रमा बसोवास गर्ने जनताको अवस्था हेर्दा अझैपनि द्वापर युगमै रहेको अनुभति हुने भन्दै जनताका आधारभूत आवश्यकता पिउने पानी, सडक, सिंचाईलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र वजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । शिक्षा र स्वास्थ्यमा जनताको पहुँच पुग्ने खालको वजेट ल्याउन सुझाव दिदै उहाँले प्रदेशलाई बलियो बनाउन र विकास निर्माणका लागि नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दल नभनी सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

सांसद तारा जिसीले यो अधिवेशनले प्रदेशको सन्तुलित विकासमा जोड दिने विश्वास गर्दै दुर्गम क्षेत्रका जिल्लालाई बजेटमा प्राथमिकता दिनुपर्ने माग गर्नुभयो । सांसद कल्पना पाण्डेले बजेटले कृषि, पर्यटन र उद्योग क्षेत्रको विकासमा जोड दिनुपर्ने भन्दै साना उद्योगलाई प्राथमिकता दिइयोस भन्नुभयो । सांसद सहसराम यादवले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने भन्दै सिंचाईको व्यवस्था गरी चक्लाबन्दी खेतीलाई प्राथमिकता दिनुपर्ने माग गर्नुभयो ।

प्रदेश पाँचले यही असार १ गते नयाँ आर्थिक वर्ष २०७६÷०७७ को लागि बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । विहिवारको बैठक सुरु हुनेवित्तिकै प्रदेश सभामुख पूर्णवहादुर घर्तीले प्रदेश प्रमुख उमाकान्त झावाट प्रदेश सभाको चौथो अधिवेशन आह्वान गरिएको पत्र प्रदेश सभा बैठकमा पढेर सुनाउनु भएको थियो । प्रदेशसभाको अर्को बैठक यही जेठ ९ गते दिउसो १ बजे बस्नगरी स्थगित भएको छ ।