किसानको गुनासो : ‘उत्पादित बस्तुको उचित मुल्य पाएनौं’

1K

किसानको गुनासो : ‘उत्पादित बस्तुको उचित मुल्य पाएनौं’

खेमानन्द पाठक/

कपिलबस्तु, ३ जेठ । कपिलबस्तुका किसानले आफूहरुले उत्पादन गरेको कृषि उपजको उचित मुल्य नपाएको कृषिमन्त्री चक्रपाणी खनालसंग गुनासो गरेका छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने ‘किसानसंग कृषिमन्त्री’ कार्यक्रम छायांकनका लागि कपिलबस्तु आउनु भएका मन्त्रीसंग किसानले कृषि उत्पादनमा सरकारको ध्यान पुग्न नसकेको तथा किसानले जसोतसो उत्पादन गरेका बस्तुमा समेत उचित मुल्य पाउन नसकेको बताएका हुन् ।

त्यस अवसरमा किसान अर्जुन पोखरेलले सरकारले उपलब्ध गराउने कृषि अनुदान बास्तविक किसानसंग नपुगेकाले कृषिजन्य बस्तुको लागत मुल्य अत्यधिक हुँदा भारतमा सरकारी अनुदानमा उत्पादित बस्तुसंग प्रतिस्पर्धा गर्नुपर्दा किसान मारमा परेको बताउनु भयो । अर्का किसान डोलाराम भुसालले स्थानीय निकायबाट किसानलाई नगद अनुदान वितरण गर्नुभन्दा सस्तो व्याजदरमा ऋणको व्यबस्था गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले भन्नुभयो–‘किसानलाई अनुदान वितरण नगर सस्तो व्याजदरमा ऋणउपलब्ध गराउने हो भने ऋण चुक्ता गर्नकालागि पनि किसान उत्पादनमा बाध्य हुनेछन् ।’ कार्यक्रममा कपिलबस्तुका अगुवा किसानको सहभागिता रहेको थियो ।

कपिलबस्तुको बाँणगंगामा गरिएको कार्यक्रममा कृषिमन्त्री खनालले कपिलवस्तु जिल्लामा कृषि अनुसन्धान केन्द्रको स्थापना गरिने बताउनु भयो । उहाँले भन्नुभयो– ‘किसान आवास तालिम परियोजना शुरु गरिन्छ, जसमा किसानहरु आएर निःशुल्क रुपमा खेतिपाती कसरी गर्ने सम्बन्धी टे«निङ् लिएर जानसक्छन् ।’

उहाँले सरकारले आगामी वर्षदेखि योगदानमा आधारित कृषि कार्यक्रम ल्याउने तयारी गरेको जानकारी गराउनु भयो । उहाँले किसानको बर्गिकरण गरी परिचय पत्र वितरण गरिने बताउदै किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराई उत्पादन लागत घटाउने बताउनु भयो । उहाँले किसानको वर्गिकरणका आधारमा किसानको बैंकमा रहेको रकमको एकदम गरिवको खातामा १५० प्रतिशत, मध्यम किसानको खातामा १०० प्रतिशत र व्यबसायिक किसानको खातामा ५० प्रतिशत रकम सरकारले थप गरिदिने बताउनुभयो ।

मन्त्री खनालले आधुनिक कृषि प्रणालीमा अनुसन्धान र किसानलाई प्रविधिमा जोड्न सके मात्रै युवा बिदेश पलायन हुने क्रम रोक्न सकिने बताउँदै त्यसैकालागि योगदानमा आधारित कार्यक्रम लागु गरिने जानकारी गराउनु भयो ।

कार्यक्रममा बाँणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुले बाँणगंगा नगरपालिकाको वडा नम्बर ११ र ३ को १२ विगाह क्षेत्रफलमा सरकारले कृषि उपज केन्द्र स्थापना गर्न लागेकोमा स्वागत गर्दै छिटो सञ्चालन गर्न आग्रह गर्नुभयो । सरकारले ठुला ठुला योजना ल्याएपनि कार्यन्वयन गर्न नसकेको बताउँदै बाणगंगा नगरपालिकामा प्रयाप्त मात्रमा सिचाई सुविधा, समयमा मलखाद र वीउबिजनको अभाव र उत्पादन गरेको बस्तुको बजारीकरणमा समस्या रहेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।