मिडियामा भाईरस पस्न नदिनका लागि बिधेयक : मुख्यमन्त्री पोखरेल

1.3K

मिडियामा भाईरस पस्न नदिनका लागि बिधेयक : मुख्यमन्त्री पोखरेल

लुम्बिनी, ३ जेठ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले पत्रकारितामा एन्टी भाईरस चाहिदैन भन्नेहरु अराजक भएको कटाक्ष गर्नुभएको छ । उहाँले सरकारले संसदमा दर्ता गरेको मिडिया विधेयक तर्फ लक्षित गरि मिडियामा भाईरस पस्न नदिनका लागि बिधेयक एन्टी भाईरसका रुपमा लिनुपर्ने बताउनु भएको हो ।

लुम्बिनी भ्रमण वर्षको अवसरमा नेपाल फोटो पत्रकार महासघको प्रथम राष्ट्रिय भेलाको शुक्रवार लुम्बिनीमा उद्घाटन गदै मुख्य मन्त्री पोखरेलले हरेक समाजका लागि एन्टी भाईरस जरुरी रहेको बताउनु भयो । उहाँले विकास र समृद्धिको यात्रालाई साकार पार्न मिडियाको साथ जरुरी रहेको भन्दै लोकतन्त्रको सुन्दरता नै चेक एण्ड ब्यालेन्स भएको समेत बताउनु भयो ।

शनिवार देखि शुरु हुने लुम्बिनी भ्रमण वर्षको आरम्भले लुम्बिनीलाई स्थापित गराउने बताउँदै उहाँले आन्तरिक पर्यटक भित्र्याएर लुम्बिनीको विकास गर्नका लागि भ्रमणवर्षको घोषणा गरिएको बताउनु भयो । विश्व सम्पदा सुचीमा रहेको लुम्बिनीलाई जुन रुपमा स्थापित गर्नु पर्ने हो त्यो रुपमा गर्न नसकिएको उहाँले बताउनु भयो । लुम्बिनीलाई संस्कृति र परम्परासँग जोडेर विकास गरिने बताउदै उहाँले बुद्धकालीन सभ्यतासँग सम्बन्धित १० स्थान को पहिचान गरिएको बताउनु भयो ।

बुद्धकालीन सभ्यतासँग पहिचान १० स्थान मध्ये सबैभन्दा बढी कपिलवस्तुमा रहेको जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले तिलौराकोट उत्खननको काम पनि अघि बढेको बताउनु भयो । मुख्यमन्त्री पोखरेलले बुद्धकालीन सभ्यतासँग सम्बन्धित कपिलवस्तुको तिलौराकोट, गोटिहवा, निग्लीहवा, सिसहनीया, कुदान, सग्रहवा रुपन्देहीको सैनामैनाको राजापानी जोगी डाँडा, देवदह भवानीपुर, नवलपरासीको रामग्राम, गण्डकनहर लगायतका स्थानलाई पहिचान गरि विकास गर्न थालिएको बताउनु भयो ।

नेपाल फोटो पत्रकार महासघका अध्यक्ष ध्रुव आलेको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी, नेपाल पत्रकार महासघ प्रदेश पाँचका उपाध्यक्ष भरत केसी, मनोज पौडेल लगायतले लुम्बिनीको विकासमा फोटो पत्रकारको भूमिका प्रशंसनीय भएको धारणा राख्नु भएको थियो । दुई दिनसम्म सञ्चालन हुने फोटो प्रदर्शनीमा प्रदेश पाँचमा खिचिएका अधिकांश फोटो प्रदर्शन गरिएको छ भने भेलामा मुलुकका ५० जिल्लाका पत्रकारहरुको सहभागिता छ ।