
बुटवल, ५ जेठ । आफू अपहरणमा परेको भनी झुटो नाटक गर्ने रुपन्देही सिद्धार्थनगर ८ का मोहम्मद कमालुद्धिन मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । कमालुद्धिनले आफू अपहरणमा परेको र त्यहाँबाट छुट्नकालागि बाबुलाई पटक पटक फोन तथा एसएमएस गरि आफूलाई अज्ञात स्थलमा बन्धक बनाई राखेको बताएका थिए ।
छोराकै माग अनुसार बाबुले ५० हजार रुपैंया दण्डपाणी बरालको नाममा आईएमई गरि पठाएको पैसा निकाल्ने क्रममा २ जेठ २०७६ मा कास्कीको पृथ्वीचोकमा रहेको आईएमईबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का २२ वर्षीय मोहम्मद कमालुद्धिन ५ बैशाख २०७६ मा घरबाट घुम्न निस्केका थिए । लामो समयसम्म पनि छोरो घरमा नआएको भन्दै उनका बुवा जोखन मुसलमानले ३० बैशाख २०७६ मा प्रहरीमा खोजतलासकालागि निवेदन दिनु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार जोखनको निवेदनपछि प्रहरीले अनुसन्धान प्रकृया अंगाडी बढाएको थियो । प्रहरीका अनुसार कमालुद्धिनले आफ्नै मोवाईलबाट बाबुलाई पटक पटक फोन तथा एसएमएस गरी आफूलाई अज्ञात स्थलमा बन्धक बनाई राखेको तथा २ लाख रुपैंयाँ माग गरेको झुटो जानकारी गराएका थिए । त्यस्तै उनीहरुसंग तत्काललाई ५० हजार रुपैंयाँमा सहमति भएको भनी दण्डपाणीको नाममा पैसा आईएमई गरिदिन आग्रह गरेका थिए ।
छोरा कमालुद्धिनको माग अनुसार बाबु जोखनले दण्डपाणीको नाममा ५० हजार रुपैंया आईएमई गरिदिनुभएको थियो । सोही पैसा निकाल्ने क्रममा प्रहरीले छोरा कमालुद्धिनलाई पक्राउ गरेको हो । अपहरणको झुटो नाटक गर्ने कमालुद्धिन बिरुद्ध सामाजिक नैतिक बिरुद्धको अभद्र व्यबहार मुद्धा चलाउनुका साथै थप अनुसन्धान अंगाडी बढाएको प्रहरीले जनाएको छ ।