नेपाली कांग्रेसले बनायो छायाँ सरकार

1.3K

नेपाली कांग्रेसले बनायो छायाँ सरकार


बुटवल, ६ जेठ । नेपाली कांग्रेसले सरकारका गतिविधिमाथि निगरानी गर्ने र आफ्नो भूमिका प्रभावकारी वनाउने उद्देश्यले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छाया सरकारको रुपमा काम गर्न मन्त्रालय स्तरीय समन्वय समिति बनाउनु भएको हो ।

जस अनुसार उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्का, अर्थमा मिनेन्द्र रिजाल, गृहमा दिलेन्द्रप्रसाद बडू संयोजक तोकिनुभएको छ । शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौर, उद्योगमा मीन विश्वकर्मा, शिक्षामा गगन थापा, खानेपानीमा सुजाता परियार, स्वास्थ्यमा पार्वती डिसी चौधरी, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामा तोकिनु भएको छ ।

त्यसैगरी भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र कानुन मन्त्रालयको समितिको संयोजकमा राधेश्याम अधिकारी तोकिनु भएको छ ।

कांग्रेसको भूमिका सशक्त नभएको आरोप जनस्तरवाट नै उठन थालेपछि कांग्रेसले छायाँ सरकार वनाएर आफ्नो गतिविधिलाई सकृय वनाउने उद्देश्य कांग्रेसको छ । उता सदनमा समेत प्रमुख प्रतिपक्षी दलको हैसियत कमजोर भएको र सरकारको निरंकुशता बढ्दै गएपनि कांग्रेसले सशक्त आवाज उठाउन नसकेको भन्ने कार्यकर्ताको व्यापक गुनासो पछि कांग्रेस सभापति देउवाले छायाँ सरकार वनाउनु भएको हो ।