
बुटवल, ७ जेठ । नेपाली काँग्रेस पार्टी सुदृणीकरणकालागि अहिले देशव्यापी रुपमा ‘राष्ट्रिय जागरण अभियान’मा छ । पार्टीले अंगाडी सारेको राष्ट्रिय जागरण अभियान अन्तरगत पहिलो चरणमा पार्टीको जिल्ला तहले एक महिने कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
देशभरी काँग्रेसको मत बढी हुँदा पनि काँग्रेसले अंगाडी सारेका उम्मेदवारले हार्नु परेको र आउँदा दिनमा अंगाडी भएका गल्ती, कमीकमजोरी हुन नदिन तथा सरकारले गरेका गलत कामको बारेमा आम जनतालाई जानकारी गराउने र जनमत आफ्नो पक्षमा पार्दै पार्टीलाई पहिलो पार्टीको रुपमा स्थापित गर्नकालागि काँग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गरेको हो ।
अभियान सञ्चालन भईरहँदा नेपाली काँग्रेस रुपन्देहीले पत्रकारहरुसंग मंगलबार बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मुलुकको राजनीतिक परिवर्तन र परिवर्तनको जगमा ०४८ यता काँग्रेसले बिकासको गतिलाई अंगाडी बढाएपनि जनतामाझ आफूले गरेका काम प्रष्टसंग राख्न नसक्दा हार व्यहोर्नु परेको भन्दै विगतका गल्ती, कमिकमजोरीलाई सुधार गरेर अंगाडी बढ्ने हो भने काँग्रेसको भविश्य राम्रो रहेको पत्रकारहरुले सुझाव दिएका छन् ।
उनीहरुले नेपाली काँग्रेसमा गुटगत राजनीति हावी भएका कारण एकले अर्काको खुट्टा तान्ने प्रबृत्तिले पनि काँग्रेसका उम्मेदवारले हार व्यहोर्नु परेको औंल्याए ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय प्रतिनीधि प्रदेश सभा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पार्टीको केन्द्रीय तहका फरक फरक नेताले दिने फरक फरक अभिव्यक्तिले तल्लो तहका कार्यकर्तालाई मात्रै नभएर जिल्ला तहका नेतालाई समेत अलमलमा पारेको भन्दै राष्ट्रिय जागरण अभियानले नेता कार्यकर्तालाई पार्टीको एउटै सुत्रमा बाँध्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पार्टीका सभापति तथा केन्द्रीय नेताहरुलाई काँग्रेसले चुनाव हार्दैछ भन्ने थाहा हुँदा हुँदै पनि स्थानीय तह, प्रदेश सभा तथा संघीय संसदको चुनाव गराएर लोकतन्त्रलाई जिताएको बताउँदै पार्टीमा गुटगत राजनीति हुनु स्वभाविकै भएपनि उम्मेदवारलाई हराउने गरी हुने गुटको राजनीतिले सिंगो पार्टीलाई नै कमजोर बनाउने धारणा राख्नुभयो ।
पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता चौधरीले नेपाल बिद्यार्थी संघको गतिबिधि शुन्य अवस्थामा पुगेको बताउँदै काँग्रेस रुपी बिद्यालयमा बिद्यार्थी भर्ना अवरुद्ध हुँदा कार्यकर्ता उत्पादनमा समेत गतिरोध भएको बताउनु भयो । उहाँले अभियानमा अहिलेसम्म भएका गल्ती कमीकमजोरी स्वीकार गर्ने, अवका दिनमा विगतका गल्ती कमजोरी दोहोरिन नदिने प्रतिवद्धता सहित सरकारले गरेका गलत कामका बारेमा भण्डाफोर गरि पार्टीमा नयाँ जागरण ल्याउने बताउनु भयो ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्माले काँग्रेसको मत बढी हुँदा पनि पार्टीले अंगाडी सारेका उम्मेदवारले हार्नु परेको बताउँदै यसको समस्या के हो ? र समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत जानकारी दिने तथा सोही अनुसार पार्टी गतिबिधिलाई अगाडी बढाउन सहज हुने भनाई राख्नुभयो ।
नेपाल प्रेस युनियन रुपन्देहीकी सभापति रेखा भुसालको अध्यक्षतामा भएको कार्यक्रममा युनियन रुपन्देहीका सल्लाहकार रामराज पोखरेल, भवानीप्रसाद पाण्डे, डायलसन अधिकारी, बिक्रम खड्का, पूर्व केन्द्रीय सदस्य विष्णु भुसाल, दामोदर खनाल, सचिव श्यामशंकर पाण्डे लगायतले पार्टीले पुराना गल्ती कमजोरीलाई आत्मालोचना गरेर सुधारोन्मुख हुनुपर्ने, कार्यक्रम गर्दा नयाँ स्थान, पार्टी र सरकारको गल्ती औंल्याउन सक्ने वक्ता छनौट गर्नुपर्ने सुझाव दिनुभएको थियो । त्यस्तै समयसान्दर्भिक वक्तव्य दिने वक्ता छनौट गर्नुपर्ने र पार्टीले सरकार अधिनायकवादको बाटोमा अंगाडी बढ्यो भन्ने मात्रै नभएर त्यो बाटोमा हिडेका दृष्टान्त समेत दिन सक्ने वक्ता छनौट गर्न सुझाव छ ।