
बुटवल, ७ जेठ । संघीय प्रणाली अनुरुप गैरसरकारी संस्थाहरुको नियमन र कानूनी व्यवस्थाको लागि प्रदेश र स्थानीय सरकारको पनि भूमिका आवश्यक रहेको बुटवलमा आयोजित कार्यक्रमका सहभागीहले बताएका छन् । महिला, बालकालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गरेको कार्यक्रममा उनीहरुले संस्थाहरुको अनुगमन र मुल्यांकन कमजोर हुन नदिन प्रदेश र स्थानीय तहको भूमिका आवश्यक रहेको बताएका हुन् ।
कार्यक्रमा प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले गैरसरकारी संस्थाको नियमन गर्न कानून भन्दा पनि कार्यान्वयन राम्रोसँग हुनुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले कहाँ कुन क्षेत्रमा लगानी गर्न सक्छन्, त्यसको खाका बनाउनुपर्ने र त्यसै अनुसार ३ वटै तहको भूमिका खोजिनुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेशमा छुट्टै सामाजिक कल्याण परिषद आवश्यक छ कि छैन भन्ने बारेमा पनि छलफल भएको थियो । पाँच नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले सामाजिक विकास मन्त्रालय भएपछि प्रदेशमा छुट्टै संयन्त्र नचाहिने बताउनुयभो । उहाँले गैर सरकारी संस्थाले काम गर्ने क्षेत्र र बजेटको आधारमा संघ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार तोक्नुपर्ने बताउनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई संघले नै हेरेपनि राष्ट्रिय गैरसरकारी संस्थामा अधिकांस त प्रदेश र स्थानीय तहको क्षेत्राधिकार हुनुपर्ने उल्लेख गर्नुभयो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवराज आचार्यले संघ संस्था सम्बन्धी कानूनको लागि प्रदेशले केन्द्रको छाता ऐनलाई पर्खेको जानकारी दिनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गैर सरकारी संस्थाहरुको लागि संघले नीतिगत व्यवस्था गर्ने, प्रदेशले अनुगमन तथा मुल्यांकन गर्ने र कार्यान्वयनको पाटो स्थानीय तहले गर्न उपयुक्त हुने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागी जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकाका महासंघका प्रतिनिधिहरुले गैरसरकारी संस्थाको व्यवस्था संघीय व्यवस्था अनुरुप हुनुपर्ने, अनुगमन र मुल्यांकन सहि तरिकाले हुनुपर्ने, शहर केन्द्रीत नभइ तल्लो तहसम्म कार्यक्रम पुग्नुपर्ने धारणा राखेका थिए ।
गैरसरकारी संस्थाका प्रतिनिधिहरुले सरकारले आफूहरुलाई हेर्ने दृष्टीकोण स्पष्ट हुनुपर्ने, कुन क्षेत्रमा कार्यक्रम गर्ने हो सरकारको प्राथमिकता स्पष्ट हुनुपर्ने, समाज कल्याण परिषदलाई स्वायत्त संस्था बनाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नयाँ कानुन निर्माणका लागि प्रदेशमा धारणा बुझ्न आएको बताउनु भयो । त्यसको सुरुवात प्रदेश पाँचबाट सुरु भएको जानकारी गराउनु भयो ।