रमेश विश्वकर्मा/
गुल्मी, ८ जेठ । चालु आर्थिक वर्षको पछिल्लो दश महिनामा गुल्मीमा २१ वटा सवारी दुर्घटना भएका छन् भने ती दुर्घटनामा परि १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएकामा ८ जना पुरुष र ४ जना महिला तथा तीन जना बालकालिका रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले तथ्यांक राखेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख पृथ्वीनारायण काफ्लेका अनुसार दुर्घटनामा परी २७ जना गम्भीर घाइते भएका थिए । २१ दुर्घटनामा २२ सवारी साधन संलग्न रहेका छन । जसमा सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा जिप तथा कार १० वटा, मोटरसाइकल ६ वटा, बस १ वटा, ट्याक्टर ५ वटा गरी जम्मा २२ सवारी साधन दुर्घटनामा परेका छन् ।
त्यस्तै पाँच हजार दुई सय ९८ सवारी कार्वाहीमा परेका छन् । जसबाट चालु आर्थिक बर्षको बैशाख महिनासम्म जम्मा ३२ लाख आठ हजार राजश्व संकलन भएको छ । जसमा तिन सय ९७ ट्रक कार्वाहीमा परी राजश्व दुई लाख ५३ हजार, तिन सय ६२ बस कार्वाहीमा परे त्यसबाट एक लाख ८८ हजार पाँच सय राजश्व संकलन भएको हो ।
त्यसैगरी जिप र कार दुई हजार ६३, ट्याक्टर दुई सय ४६, सबैभन्दा बढी दुई हजार दुई सय ३० मोटरसाईकल कारवाहीमा परेका छन् । त्यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाएकालाई गरिएको कारवाहीबाट ५३ हजार रुपैंया राजश्व संकलन भएको छ । त्यसमा ५३ जनालाई कारवाही गरिएको थियो ।