बुटवल, ९ जेठ । प्रदेश पाँच सरकारले बिहिबार प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सारमा राम्रो देखिएपनि कार्यान्वयन पक्ष दुर्वल भएको प्रमुख विपक्षि दल नेपाली काँग्रेसले टिप्पणी गरेको छ । प्रदेश सरकारले तयार पारेको प्रदेशको नीति तथा कार्यक्रम पढेर प्रदेश प्रमुख उमाकान्त झा बाहिर निस्कन नभ्याउँदै प्रमुख विपक्षि दल काँग्रेसले कार्यान्वयन पक्षमा प्रश्न उठाएको हो ।
विपक्षि दल नेपाली काग्रेस संसदीय दलका उपनेता विरेन्द्र कनौडीयाले सरसर्ती हेर्दा नीति कार्यक्रम राम्रो देखिएपनि कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउनु भयो । नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको र बजेट सिमाका कारण कार्यान्वयन हुन नसक्ने उहाँले बताउनु भयो । उहाँले प्रदेशको बजेट ३४÷३५ अर्व मात्रै हुने भएपनि सरकारले एउटै कार्यक्रम ५० औं अर्वका रहेको बताउँदै नीति कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गर्नुभयो ।
‘सरसर्ती हेर्दा नीति कार्यक्रम राम्रो देखिएको छ ।’ उहाँले भन्नुभयो–‘तर ३०÷३५ अर्वको बजेटले यो नीति कार्यक्रमलाई समेटन सक्दैन ।’ नीति कार्यक्रमको गहिरो अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गरेर पार्टीको धारणा सार्वजनिक गर्ने उहाँले बताउनु भयो । त्यस्तै प्रमुख सचेतक सुरेन्द्र हमालले नीति कार्यक्रमले धेरैकुरा समेटेपनि सरकारले कार्यान्वयन गर्न नसक्ने नीति कार्यक्रम ल्याएको टिप्पणी गर्नुभयो । उहाँले नीति कार्यक्रम पुरानै निरन्तरता भएको उल्लेख गर्दै अंघिल्लो वर्ष आएका कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो ।
सांसद अष्टभुजा पाठकले भने नीति कार्यक्रममा नयाँ कुरा केही पनि नआएको प्रतिक्रिया दिनुभयो । उहाँले नीति कार्यक्रममा जनताका योजना केही पनि समावेश नभएको बताउँदै गोलमोटल रुपमा पुरानै कार्यक्रम ल्याएको दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रै देखिन्छ ।’
समाजवादी पार्टीका संसदीय दलका नेता सन्तोष पाण्डेले पनि नीति तथा कार्यक्रमको कार्यान्वयन पक्षमा प्रश्न उठाउनु भएको छ । उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै निरन्तरता भएको बताउँदै यो नीति कार्यक्रमले जनताका आवश्यकतालाई पूर्ति गर्न नसक्ने भएकाले संसदमा कुरा उठाउने बताउनु भयो ।