औद्योगिक बिकासका ठोस कार्यक्रम आएन : नीजि क्षेत्र

502

औद्योगिक बिकासका ठोस कार्यक्रम आएन : नीजि क्षेत्र

 

बुटवल, ९ जेठ । प्रदेश पाँच सरकारले बिहिबार प्रस्तुत गरेको प्रदेशको नीति तथा कार्यक्रम महत्वाकांक्षी भएको नीजि क्षेत्रको टिप्पणी छ । नीति कार्यक्रमले सबै क्षेत्रलाई समेटेको र राम्रो देखिएपनि महत्वाकांक्षी बजेट कार्यान्वयनमा चुनौती रहेको उनीहरुले प्रतिक्रिया दिए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले नीति तथा कार्यक्रमले समग्रमा सबै क्षेत्रलाई समेटेको भएपनि प्रदेश स्तरीय मोतिपुर औद्योगिक क्षेत्रको बारेमा केही पनि सम्बोधन नहुनुले प्रदेश सरकारले यो औद्योगिक क्षेत्रको अपनत्व लिन नखोजेको हो की भन्ने भान भएको बताउनु भयो ।

उहाँले नीति तथा कार्यक्रम अंघिल्लो वर्षकै धेरै कुरा दोहोरिएको बताउँदै ल्याएका नीति तथा कार्यक्रम समग्रमा सकारात्मक देखिएपनि कार्यान्वयन पक्ष कमजोर देखिएको प्रतिकृया दिनुभयो । ‘प्रदेश सरकार र स्थानीय तह बिचको समन्वय अभाव छ ।’ उहाँले भन्नुभयो–‘अधिकांस कार्यक्रम समन्वयमा गर्ने भनिएको छ, यसले पनि कार्यान्वयनमा समस्या देखिन्छ ।’ कृषिमा नीजिकरण, यान्त्रिकीकरण, व्यबसायिकरण लगायतले सरकारले प्रस्तुत गरेका अधिकांस कुराहरु नीजि क्षेत्रले नै उठाएका बिषय भएकाले कार्यान्वयनमा सरकार गम्भिर बन्नुपर्ने उहाँका भनाई छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले नीति कार्यक्रम राम्रा देखिएपनि महत्वाकांक्षी भएकाले कार्यान्वयनमा समस्या देखिएको टिप्पणी गर्नुभयो । उहाँले कृषि, यातायात, उद्योग, पर्यटन सबै क्षेत्रलाई नीति कार्यक्रमले समेटेको भएपनि औद्योगिक तथा व्यापारिक बिकासकालागि ठोस कार्यक्रम नआएको बताउनु भयो । उहाँले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम, बन आधुनिकीकरण, मोनोरेल लगायतका कुरा आएपनि मुलुकको आर्थिक बिकासको मेरुदण्ड उद्योग स्थापना, रुग्ण उद्योगको उत्थान उद्योग सञ्चालनमा भएका नीतिगत सुधारका कुरालाई समेट्न नसकेको बताउनु भयो । ‘अहिले मुलुकको व्यापार घाटा बढ्दो छ ।’ उहाँले भन्नुभयो–‘निर्यातलाई जोड दिनुपर्ने थियो, त्यो देखिएन ।’

त्यस्तै रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले नीति कार्यक्रम सकारात्मक भएको प्रतिकृया दिनुभयो । उहाँले उद्योगी व्यबसायीले उत्पादनमुखी कार्यक्रम चाहेको बताउँदै कार्यक्रम अनुसार बजेट विनियोजन हुन सकेमा निराश भएका जनतालाई पुन आशा दिन सकिने बताउनु भयो । ‘नीति कार्यक्रममा कृषिलाई बढी महत्व दिईएको छ, स्वास्थ्य, शिक्षा, यातायात, सबै क्षेत्रलाई समग्रमा सम्बोधन भएको छ ।’ उहाँले भन्नुभयो–‘शान्ति र समृद्धिकालागि बिकास आवश्यक छ ।’