
बुटवल,१३ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय जनमुक्ति पार्टीले यही जेठ १५ देखि सातवटै प्रदेशबाट भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्न लागेको हो । राष्ट्रिय जनमुक्ति पार्टीद्वारा गठित भ्रष्टाचार बिरुद्धको राष्ट्रिय अभियान, केन्द्रीय संयोजन समितिले सोमवार बुटवलमा ‘पत्रकार साक्षात्कार’ कार्यक्रमको आयोजना गरी अभियान बारे जानकारी गराएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव तथा भ्रष्टाचार बिरुद्धको राष्ट्रिय अभियान केन्द्रीय संयोजन समितिका संयोजक केशव सुर्यवंशीले नेपालमा जटिल र बिकराल समस्याको रुपमा संस्थागत हुँदै गएको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने दृढ इच्छा शक्ति नभई समृद्ध नेपाल निर्माण हुन नसक्ने बताउदै सबैले भ्रष्टाचार बिरुद्ध उठ्नुपर्छ भन्ने गंभीर दायित्वबोध गरुन् भन्ने अपेक्षा सहित पार्टीले भ्रटाचार बिरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने संकल्प गरेको जानकारी दिनुभयो ।
भ्रष्टाचारमुक्त देश निर्माणका लागि उच्च नैतिक बलयुक्त राजनीतिक नेतृत्व र संगठन अनिवार्य छ भन्ने तथ्यप्रति राष्ट्रिय जनमुक्ति पार्टी सधै प्रस्ट,सचेत र प्रतिवद्ध रहेको स्मरण गराउँदै उहाँले भ्रटाचारीलाई देशद्रोह सरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड सजाय गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।
अहिले दुई तिहाईको सरकार रहेकोले संबिधान नै संसोधन गरेर पनि भ्रष्टाचार बिरुद्ध कडा कानून बनाउन सकिने भन्दै उहाँले आफुले गरेको प्रतिवद्धता व्यवहारमा लागू गरेर देखाउन प्रधानमन्त्री केपी शर्मा ओली र सरकारलाई आग्रह गर्नुभयो ।
भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने एउटा छुट्टै स्वायत्त निकायको आवश्यकता रहेको भन्दै महासचिव सुर्यवंशीले छोटो समयमै भ्रष्टाचार सम्बन्धि मुद्दाको छिनोफानो गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव तथा जनमुक्ति एकेडेमीका प्रमुख टोप अस्लामीले भ्रष्टाचार जस्तो बिषयलाई हल्कारुपमा लिन नहुने भन्दै भ्रष्टाचार बिरुद्धको अभियानमा सामूहिक प्रयास जरुरी रहेको बिचार व्यक्त गर्नुभयो ।