कपिलबस्तुको नेपाल राष्ट्रिय माबिमा छात्रा सेक्सनको भवन उद्घाटन

1.3K

कपिलबस्तुको नेपाल राष्ट्रिय माबिमा छात्रा सेक्सनको भवन उद्घाटन


कपिलबस्तु, १४ जेठ । कपिलबस्तुको दक्षिणी क्षेत्र सुद्धोधन गाउँपालिका वडा नं. ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा छात्रा सेक्सनकालागि निर्माण गरिएको बिद्यालय भवन उद्घाटन गरिएको छ । गाउँपालिकाको १५ लाख रुपैंया र बिद्यालयको नीजि स्रोत गरि करिव २४ लाख रुपैंयाको लागतमा निर्माण गरिएको ट्वाईलेट सहित तीन कोठे भवनको मंगलबार कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको हो ।

भवन उद्घाटन कार्यक्रममा उहाँले पुरुषको तुलनामा महिलाको शैक्षिक स्तर कमजोर रहेको उल्लेख गर्दै महिलालाई मात्रै लक्षित गरेर बिद्यालय सञ्चालन गर्ने प्रयासले महिलाको शैक्षिक स्तर सुधारमा महत्वपूर्ण रहने बताउनु भयो । महिलालाई मात्रै लक्षित गरेर बिद्यालय सञ्चालन गर्ने काम चुनौतीपूर्ण पनि रहेकाले यो चुनौतीको सामना गर्न व्यबस्थापन समिति पनि तयार हुनु पर्ने र शिक्षा बिकासको दायित्व स्थानीय तहको भएकाले स्थानीय तहले पनि भूमिका निर्वाह गर्नुपर्ने भनाई राख्नुभयो ।

प्रदेश पाँच प्रदेश सभा सदस्य सहसराम यादवले त्यस क्षेत्रको बिकासकालागि संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार लागिपरेकाले बिकासकालागि अव धेरै समय कुर्नु नपर्ने बताउँदै त्यसकालागि स्थानीय नै अग्रसर हुनु पर्ने भनाई राख्नुभयो । उहाँले सरकारसंग प्रसस्त बजेट रहेकाले बजेटका अभावमा बिकासका काम अवरुद्ध नहुने बताउँदै त्यस क्षेत्रको बिकासकालागि आफूले पनि प्रयास गरिरहेको बताउनु भयो । उक्त बिद्यालयमा सञ्चालनको तयारी गरिएको कन्या क्याम्पसको पूर्वाधार निर्माण तथा क्याम्पस सञ्चालनमा बजेट अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै जिल्ला शिक्षा समन्वय इकाई कपिलबस्तुका प्रमुख थानेश्वर घिमिरेले तराईका दक्षिणी भेगमा छोरी पढाउनु पर्छ भन्ने मानसिकता समेत बिकास नभईसकेको अवस्थामा कन्या बिद्यालय सञ्चालन गर्ने कुरा चनौतीपूर्ण रहेपनि यसले महिलामा शिक्षाको स्तर बिकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँले गाउँपालिकाको बजेटले भ्याएसम्म गाउँको बिकाससंगै शिक्षा क्षेत्रको बिकासमा खर्चिको र बिकासकालागि आफूले निरन्तर प्रयास गरिरहेको बताउनु भयो । कार्यक्रममा नेकपा जिल्ला सदस्य रामरुची चौधरी, अर्जुन पाण्डे, समाजसेवी कौरवप्रसाद जैसवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस अवसरमा बिद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेयले शिक्षामा पछाडी परेको जिल्लाको दक्षिणी भेगमा सञ्चालित राष्ट्रिय माध्यमिक बिद्यालयले छात्रा सेक्सन छुट्टै सञ्चालनकालागि बिद्यालयको करिव १ बिगाहा ४ कट्ठा जग्गामा छात्रा भवन निर्माण गरि चालु शैक्षिक सत्रदेखि नै छुट्टै छात्रा सेक्सन सञ्चालनको तयारी गरिएको बताउनु भयो । उहाँले चालु शैक्षिक सत्रदेखि ६, ७ र ८ कक्षा सञ्चालन हुने र क्रमश कक्षा १२ सम्म छुट्टै छात्रा सेक्सन सञ्चालन गरिने बताउँदै सोही स्थानमा छुट्टै कन्या क्याम्पसको समेत परिकल्पना गरिए अनुसार भवन निर्माणको काम सुरु गरिएको जानकारी गराउनु भयो ।

प्रतिनीधि सभामा त्यस क्षेत्रबाट निर्वाचित कृषि मन्त्री चक्रपाणी खनालको संसदीय क्षेत्र बिकास कोषको ५० लाख रुपैंयाबाट कन्या क्याम्पसकालागि भवन निर्माणको काम सुरु गरिएको बताउँदै प्रधानाध्यापक पाण्डेयले भवन निर्माण पुरा भएपनि त्रिबिसंग सम्बन्धनको लागि प्रकृया अंगाडी बढाईने त्यस अवसरमा जानकारी गराउनु भयो ।