
बुटवल, १५ जेठ । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रभातफेरी सहित बिशेष समारोह गरि गणतन्त्र दिवस मनाईएको छ । गणतन्त्र दिवसका दिन बुधबार बुटवलको राजमार्ग चौराहाबाट सुरु गरिएको झाँकी सहितको प्रभातफेरी प्रदर्शनी स्थल बुटवल मण्डपमा पुगेर बिशेष समारोहमा परिणत भएको थियो ।
प्रभात फेरीमा उत्कृष्ट झाँकी प्रदर्शन गर्नेलाई नगर सहित पुरस्कृत गरिएको थियो । प्रभात फेरीमा भित्रका बिभिन्न संस्कृति झल्कीने ३१ वटा झाँकी प्रदर्शन गरिएको थियो । झाँकी प्रदर्शनीमा तमू प्ले ल्हु बुटवल प्रथम, नेवाः समाज बुटवल द्वितीय र पद्म चैत्य बिहार तृतीय भएका थिए । उनीहरुलाई प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री शंकर पोखरेलले पुरस्कार प्रदान गर्नुभएको थियो ।
त्यस्तै थकाली समाज बुटवल, क्षेत्री समाज बुटवल, नेपाल मगर संघ, कालिका मानवज्ञान माबि, ब्रहम कुमारी इश्वरीय बिश्वबिद्यालय, थारु सस्कृति मयुर नाच, नौमति सास्कृतिक समूह सैनामैना, सान्त्वना भएका थिए । झाँकी प्रदर्शनीमा प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई २० हजार र सान्त्वनालाई १० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको थियो ।
गणतन्त्र दिवसको अवसरमा आयोजना गरिएको बिशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अब सरकार, राजनीतिक दल, संघसंस्था र नागरिकहरु एकमत भई समृद्धिको कार्यमा लाग्नुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले २३५ वर्षे राजतन्त्रको अन्त्य गरि मुलुकमा गणतन्त्र स्थापना पछि अव जनताको बिचमा रहेको गरीबि, अशिक्षालाई निवारण गरी समृद्ध राष्ट्र बनाउन बाकि रहेको उल्लेख गर्दै तीन तहका सरकारले साझा लक्ष्य बनाई त्यसैमा केन्द्रित हुनु पर्ने भनाई राख्नुभयो ।
उहाले प्रदेश सरकार स्थापना भएकोे एक वर्षमा जनताले प्रदेश सरकारलाई खोज्ने अवस्थामा पुर्याएको र अव योजनाबद्ध बिकास गरी समृद्ध नेपाल बनाउने अभियानको सुरुवात प्रदेश पाँचबाट गर्ने बताउनु भयो । उहाले भन्नुभयो–‘एक बर्षमा जनताले प्रदेश सरकार खोज्न लागेका छन्, हामीले पहिलो वर्ष कानून निर्माण वर्ष भन्यौ र त्यही अनुसार काम गर्यौ, प्रदेशको आवधिक योजना पनि बनायौं, अव त्यही आवधिक योजनाका आधारमा समृद्ध प्रदेश बनाउने गरी काम गर्छौ ।’
मुख्यमन्त्री पोखरेलले अहिले पनि बजेट खर्च गर्ने, आर्थिक बृद्धिदर बढाउने प्रदेश पाँच अन्य प्रदेशको तुलनामा अंगाडी रहेको बताउँदै दुई अंकको आर्थिक बृद्धिदर पहिला हासिल गर्ने प्रदेश पनि यही नै हुने दावी गर्नुभयो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले नेपालको संघीयता नौलो र आफ्नै देशको मौलिकतामा आधारित भएकाले समृद्ध राष्ट्र बनाएर यसबाट लाभ लिनुपर्ने बताउनु भयो ।