
बुटवल, १५ जेठ । गणतन्त्र दिवसको अवसर पारेर मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा दीप प्रज्वलन गर्नुका साथै कोण सभा गरेको छ । जनताको लामो संघर्ष बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षाकालागि दीप प्रज्वलन गरिएको हो । बुटवलको राजमार्ग चौराहामा दीप प्रज्वलन पछि आयोजित ‘गणतन्त्रको आधार ः स्वतन्त्र प्रेस र मानव अधिकार’ विषयक अन्तर संवाद सहितको कोण सभामा बोल्ने वक्ताहरुले शासन व्यबस्था परिवर्तन भएपनि आम नागरिकको जीवन स्तरमा परिवर्तन हुन नसकेका कारणले जनताले गणतन्त्रको कुनै नयाँ अनुभूति गर्न नपाएको बताएका थिए ।
कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायको अपुरा कार्यहरु पुरा गर्नु पर्ने बताउँदै संविधान प्रदत्त अधिकारहरुलाई जनताले अनुभूति गर्नेगरी कार्यान्वयनमा लैजानु पर्ने धारणा राख्नुभयो । उहाँले पछिल्लो समयमा सरकारले स्वतन्त्र प्रेस, मानव अधिकार आयोग लगायतका स्वतन्त्र संस्थाहरुको प्राण झिक्नेगरी ल्याएका बिधेयक बिरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीकी सदस्य मायाँ गौतम, नेकपा बुटवल उपमहानगरपालिका अध्यक्ष बाबुराम पन्थी, उच्च अदालत बुटवल बार एशोसियसन अध्यक्ष षडानन्द भण्डारी, राष्ट्रिय मानव अधिकार आयोग बुटवलकी प्रमुख सम्झना शर्मा, कपिल ज्ञवाली लगायतले मानव अधिकारको संरक्षण र प्रेस स्वतन्त्रताको रक्षा, भ्रष्टाचार उन्मुलन, सुशासनमा जोड दिंदै गणतन्त्रलाई संस्थागत बिकास गर्न सरकार चुक्न नहुने भनाई राख्नुभएको थियो । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन ज्ञवालीले गर्नुभएको थियो ।
त्यस्तै गणतन्त्र दिवसकै अवसरमा नेपाली काँग्रेसले पनि बुटवलको ट्राफिकचोकमा साँझ दीप प्रज्वलन गरेको छ । नेपाली काँग्रेस क्षेत्रीय समिति र बुटवल नगर समितिको आयोजनामा दीप प्रज्वलन गरिएको हो । त्यस्तै कपिलबस्तुमा पनि मानव अधिकार तथा शान्ति समाजले सिद्धार्थ स्मारक माध्यमिक बिद्यालयमा अध्ययन गर्ने दृष्टिबिहिन बिद्यार्थीलाई सेतो छडी, टिसर्ट लगायतका सामाग्रि प्रदान गरेको छ । समाजका जिल्ला सभापति गोबिन्द पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ र समाजका केन्द्रीय सदस्य कृष्ण पंगेनीले नेत्रहिन बिद्यार्थीलाई ती सामाग्रि हस्तान्त्रण गर्नुभएको थियो ।