
बुटवल, १७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले मुलुक लोकतान्त्रिक पद्धतीबाट हिड्न छाडेको बताउनु भएको छ । उहाँले अब कम्युनिष्ट सरकारबाट केही आशा नभएको पनि उल्लेख गर्नुभयो । नेपाल शिक्षक संघको प्रदेश पाँचको पहिलो प्रतिनिधि सभामालाई आज(शुक्रबार) बुटवलमा सम्बोधन गर्दै नेता कोइरालाले ओली सरकारले सबै शक्ति केन्द्रीकृत गरेर तानाशाही बन्न खोजेको समेत आरोप लगाउनु भयो ।
उहाँले सरकारमा रहेको दललाई संघीयता मन परेपनि नपरेपनि रहने बताउँदै संघीयताको रक्षा गर्ने दायीत्व काँग्रेसको भएको उल्लेख गर्नुभयो । नेता कोईरालाले पार्टी जागरण कार्यकर्तालाई भन्दा पनि केन्द्रीय नेतालाई चाहिएकाले पार्टीले अहिले राष्ट्रिय जागरण अभियान चलेको भन्दै अभियान चलाउँदैमा कार्यकर्तामा जागरण नआउने बताउनु भयो । मुलुकको नयाँ संरचना अनुसार पार्टीका संरचना नबनेकाले कार्यकर्तामा जागरण आउन नसकेको बताउँदै कार्यकर्तामा उत्साह दिनकालागि अधिवेशन बाहेक अर्को उपाय नभएको बताउनु भयो ।
कार्यक्रममा बर्दियाका काँग्रेस सभापति तथा प्रतिनीधि सभा सदस्य सञ्जय गौतम, प्रतिनीधि सभा सदस्य डा. अमृतकुमार सिंह, नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सभा सदस्य बिरबहादुर राना, गुल्मीका काँग्रेस सभापति भुवन श्रेष्ठ, नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष अमरबहादुर खड्का, भरत लम्साल, महासचिव शोमनाथ गिरी, नेपाल ट्रेड युनियन काँग्रेसका पूर्व केन्द्रीय उपाध्यक्ष बमबहादुर गिरी लगायतले शिक्षकका पेशागत हकहितका सवालमा बिचार राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका प्रदेश अध्यक्ष अर्जुन योगीले शिक्षकका पेशागत हकहित तथा शिक्षा क्षेत्रका समस्या समाधानकालागि सरकारसंग भएको ३० बुँदे सहमति कार्यान्वयनमा सरकारबाट आनाकानी भईरहेको बताउनु भयो । उहाँले संघीय शिक्षा ऐन नबनीसकेको र प्रदेशले पनि नबनाई सकेको अवस्थामा स्थानीय तहले प्रतिकुल हुनेगरी ऐन नियम बनाएर शिक्षामा बिकृती ल्याउने काम भएको आरोप लगाउनु भयो ।
त्यस अवसरमा संघको उत्कृष्ट जिल्लाका रुपमा दाङ्, महिलाले नेतृत्व गरेको पाल्पा, प्युठान र रोल्पा जिल्ला तथा संघका संस्थापकहरुलाई सम्मान गरिएको थियो । संघको प्रथम प्रतिनीधि सभा दुई दिनसम्म चल्ने संघका प्रदेश महासचिव कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो ।