मणिग्राम, १७ जेठ । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले क्यु.ए.ए प्राप्त गरेको राममणी बहुमुखी क्याम्पसलाई संस्थागत स्वायत्तता हुँदै ‘मानित विश्वबिद्यालय’ (डिम्ड युनिभर्सिटी) तर्फ लैजानकालागि प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्राम स्थित राममणी बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता प्रमाणपत्र (क्युएए) प्रदान गरेको अवसरमा शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले क्युएए प्राप्त गर्ने शैक्षिक संस्था राष्ट्रका गहना भएको बताउनु भयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले नगरपालिकाको गरिमाका रूपमा राममणी क्याम्पस उदाएको उल्लेख गर्दै क्याम्पसको थप विकाशका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक डीन दिनेशमणी घिमिरेले क्यू.ए.ए. प्राप्ति आफैमा उपलब्धि र थप विकाशका लागि चुनौती रहेको भन्दै निरन्तर कायम राख्ने गरि काम गर्न आग्रह गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले संस्थालाई निरन्तर प्रगतिमा लैजानका लागि आफूहरू योजना र गृहकार्यका साथ अघि बढेको बताउनुभयो । सो अवसरमा गुणस्तर प्रमाण प्राप्तिको सन्दर्भमा प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख मोहनराज शर्माले सबैको सद्भाव र क्याम्पस परिवारको अथक मेहनतले यो उपलब्धि हासिल भएको बताउनुभयो ।