
भैरहवा, १९ जेठ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निरंकुश बने राणा र पञ्चायत जस्तै अहिलेको केपी ओली सरकारलाई पनि जनताले हटाउने बताउनु भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार रुपन्देहीको भैरहवा गौतमबुद्ध बिमानस्थलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भन्नुभयो–‘राणा र पञ्चायतसंग पनि ठूलो शक्ति थियो तर जनताले ढाली दिए अहिलेको सरकार पनि त्यस्तै निरंकुश बने रहीरहन्छ ?’
उहाँले ओली सरकारले मिडिया काउन्सिल बिधेयक ल्याएर प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेको, न्यायालय, मानव अधिकार आयोग लगायतका स्वतन्त्र निकायलाई प्रधानमन्त्री मातहत ल्याउने र सबैलाई आफ्नै ईशारामा चलाउने प्रपञ्च रचेको बताउँदै प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको बाटोमा अंगाडी बढेको आरोप लगाउनु भयो ।
सभापति देउवाले बालुवाटार जग्गा, वाईड बडी बिमान लगायतका प्रकरणमा शुक्ष्म अनुसन्धान गर्नकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुभयो । भ्रष्टाचार लगायतका मुद्धामा नेपाली काँग्रेसले सुरुमा चर्को आवाज उठाएपनि तपाईको नाम जोडिएपछि सेलाउने गरेको भन्ने पत्रकारको जिज्ञाशामा उहाँले त्यस्ता कुरामा आफ्नो कुनै संलग्नता नरहेको र संसदमै आफूले प्रष्ट कुरा राखेको बताउँदै ती बिषयमा अख्तियारले गहिरो अध्ययन गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउनु भएको हो ।
नेपाली काँग्रेसले गठन गरेको छायाँ सरकारका मन्त्रीहरुले सम्बन्धित मन्त्रालयमा भएका कमिकमजोर खोजीगरी सदनमा प्रभावकारी रुपमा उठाउने उहाँले जानकारी गराउनु भयो । उहाँले पार्टीमा अहिले सबै एक हुने बेला भएको र नेतृत्वको विषयमा महाधिवेशनमा मात्रै छलफल हुने बताउनु भयो । उहाँलाई पत्रकारले नेतृत्व हस्तान्त्रणको विषयमा पश्न गरेका थिए ।