‘मानव अधिकारको उपहास गर्ने काम भयो’

1.3K

‘मानव अधिकारको उपहास गर्ने काम भयो’

बुटवल, १९ जेठ । मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा रुपन्देहीले स्थापना दिवस मनाएको छ । संस्था स्थापना भएको २४ बर्ष पुरा गरेको अवसमारमा ‘मानवअधिकारमा नयाँ घार’ विषयक गोष्ठी गरेको हो । आइतवार बुटवलमा गरेको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मानवअधिकार जीवनको अपरिहार्य र महत्वपूर्ण विषय भएको बताउँदै मानव जीवन र प्रकृति बिचको सम्बन्धलाई समेत मावन अधिकारको परिभाषामा समेट्नु पर्ने बताउनु भयो ।

नेपाली काँग्रेस महासमिति सदस्य युवराज गिरीले राज्य मानवअधिकार र स्वतन्त्रताको उपहास गर्ने तर्फ उदत देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले जनताले स्वतन्त्रता, न्याय र समतामुलक राज्य व्यवस्थाका लागि लडेको भन्दै सरकार त्यो बाटोबाट च्युत भएको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का रुपन्देहीका सचिव नारायण जिसीले द्वन्द्वपछिका घटनाहरु भन्दा मानवअधिकारको अवस्थामा केही सुधार भए पनि सन्तोषजनक अवस्था नरहेको बताउनु भयो ।

मानवअधिकार तथा शान्ति समाजका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई प्रधानमन्त्री मातहत राख्न खोजेको बताउँदै त्यसो भएमा मानव अधिकारको चिर हरण हुने भएकाले त्यसको संरक्षणकालागि सबै एक भएर लाग्नुपर्ने बताउनु भयो । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यक्ष डिपी खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव कपिल ज्ञवालीले गर्नुभएको थियो ।