उद्योगमैत्री वातावरण बिना आर्थिक बिकास सम्भव छैन : मन्त्री बराल

937

उद्योगमैत्री वातावरण बिना आर्थिक बिकास सम्भव छैन : मन्त्री बराल

बुटवल, २४ जेठ । नेपाल बजार बिक्रि प्रतिनीधि संघको पाँचौं राष्ट्रिय अधिवेशन शुक्रबारदेखि बुटवलमा सुरु भएको छ । अधिवेशनको प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्नुभएको हो । अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री बरालले लगानीमैत्री वातावरण नहुँदासम्म मुलुको आर्थिक बिकास सम्भव नभएको बताउँदै लगानी मैत्री वाताबरण बन्नेगरी नीति निर्माणमा सरकार लागेको बताउनु भयो ।

उहाँले उद्योग प्रतिष्ठानमा काम गर्ने मजदुर कर्मचारीको भविश्यसंग उद्योग प्रतिष्ठानको पनि भविश्य जोडिएको बताउँदै उद्योग प्रतिष्ठान र काम गर्ने मजदुर कर्मचारीबिच मैत्रीपूर्ण सम्बन्धमा जोड दिनुभयो । मन्त्री बरालले मुलुकको आर्थिक बिकास र समृद्धिकालागि औद्योगिक बिकास अपरिहार्य रहेको बताउँदै औद्योगिक बिकासकालागि उद्योग व्यबसायमैत्री कानुन बनाउन सरकार लागि परेको उल्लेख गर्नुभयो ।

‘रोजगार, श्रम मैत्री वातावरण बनाउन कानुनको प्रष्टता आवश्यक छ ।’ उहाँले भन्नुभयो–‘लगानीमैत्री, रोजगार तथा श्रममैत्री वातावरण बनाउन हामी सफल हुनेछौं, मलाई विश्वास छ ।’ उहाँले व्यबसायमैत्री कानुन निर्माणकालागि सोंचमा समेत सुधार ल्याउन आवश्यक रहेको उल्लेख गर्दै व्यबसाय तथा श्रममैत्री कानुन नबन्दा सम्म औद्योगिक बिकास सम्भव नरहेको भनाई राख्नुभयो ।

कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, पश्चिम नेपाल बस व्यबसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराई संघका वरिष्ठ उपाध्यक्ष युवराज खनाल लगायतले उद्योग प्रतिष्ठान र त्यसमा काम गर्ने मजदुर कर्मचारी बिच नङ् र मासुको जस्तै सम्बन्ध रहने भएकाले एकले अर्कालाई बुझेमा त्यस्ता उद्योग प्रतिष्ठानसंगै काम गर्ने मजदुर कर्मचारीको पनि भविश्य सुनिश्चित हुन सक्ने भनाई राख्नुभएको थियो ।

दुई दिनसम्म चल्ने अधिवेशनमा ‘उद्योग व्यबसायको रक्षा गरौं, रोजगारीको संरक्षण गरौं’ भन्ने नारालाई प्रमुख रुपमा उठाईएको छ । २०५८ सालमा स्थापना भई कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको नेपाल बजार बिक्रि प्रतिनीधि संघको हालसम्म २२ जिल्लामा शाखा तथा १५ हजार सदस्य रहेको बताईएको छ ।

राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीमा काम गर्ने कम्पनीका प्रतिनीधिहरु सदस्य रहेको संस्थाका सदस्यहरुको पेशागत हकहित र पेशागत मर्यादालाई समेत ध्यान दिएर आपसमा आत्मीयता कायम गर्ने मुख्य उद्देश्य रहेको संघको पाँचौं राष्ट्रिय अधिवेशन आयोजक समितिका संयोजक छविलाल शर्माले बताउनु भयो । आफूहरुको जीवनशैलीलाई सुविधा सम्पन्न बनाउने, समयसापेक्ष प्रविधियुक्त र प्रतिस्पर्धात्मक क्षमता हासिल गरि आफूले काम गर्ने उद्योग प्रतिष्ठालाई समेत गतिशिल बनाउने उद्देश्य रहेको उहाँले बताउनु भयो ।

देशको अर्थतन्त्रमा उद्योग प्रतिष्ठानले कुल बजेटको ३० प्रतिशत हिस्सा ओगटेको बताउँदै उद्योग प्रतिष्ठानको सफलतामा आफूहरुको महत्वपूर्ण भूमिका रहेको भएपनि कतिपय उद्योग प्रतिष्ठानमा आफूहरुको सेवा सुविधामा सोही अनुसार नहुनु दुःखद रहेको त्यसका सदस्यहरु बताउँछन् ।