
काठमाडौं/नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टीका शीर्ष नेताहरुले आन्तरिक भेटघाट र सक्रियतालाई बढाएका छन्।पार्टी सभापतिको प्रमुख दाबेदारका रूपमा देखिएका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले महाधिवेशनको पूर्व तयारीका लागि पार्टी नेता तथा कार्यकर्तासँग दैनिक भेटघाट र सम्बन्ध विस्तारका लागि हालै नयाँ वानेश्वरमा छुट्टै सम्पर्क कार्यालय खडा गरी आफ्नो गतिविधि बढाएका छन्।कांग्रेसका नेता एवम् देउवाका समर्थक पूर्व सांसद राजेन्द्र खरेलको नयाँ वानेश्वरस्थित घरमा गत मंगलबार कार्यालय सञ्चालन गर्दै बुधबार अपरान्हदेखि देउवाले कार्यकर्तासँग भेटघाट र सम्पर्क गर्ने कार्य शुरु गरेका छन्।पार्टीको महाधिवेशनलाई ध्यान दिँदै पार्टी उपसभापति रामचन्द्र पौडेलले केही समयअघि देखि नै अनामनगरस्थित यूनियन हाउस नजिकै एक घरमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरिसकेका छन्।देउवा निकट एक नेताका अनुसार, पार्टीको विशेष कार्यक्रम वा अन्य कुनै काम परेको अवस्थामा बाहेक नेता देउवा दैनिक रुपमा अपरान्ह ३ बजेदेखि साँझसम्म नै उक्त सम्पर्क कार्यालयमा बसेर त्यहाँ पुग्ने केन्द्रीय तथा जिल्लास्तरीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्नेछन्।एभरेष्ट होटल नजिकै रहेको खरेलको घर विगतमा तत्कालिन सभापति कृष्णप्रसाद भट्टराईको पालामा पनि पार्टी कार्यालय सञ्चालनका लागि उपयोग गरिएको थियो।त्यसैगरी पौडेलले पनि पछिल्लो समयमा दिनहुँजसो अपरान्हपछि आफ्नो सम्पर्क कार्यालयमा आफू निकट नेता, कार्यकर्ता, बुद्धिजिवी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुसँग छलफल र परामर्श गरिरहेका छन्।पार्टी सभापतिको आकांक्षीका रुपमा अगाडि आएका देउवा र पौडेल दुबैको नीजि निवास सर्वसाधारण कार्यकर्ताको आवतजावतको सुविधा भन्दा पर भएको कारण पनि यी दुई नेताले राजधानीको केन्द्र नयाँवानेश्वर र अनामनगरमा सम्पर्क कार्यालय खोलेका हुन्।