
बुटवल, १७ असार । बुटवल उपमहानगरपालिका वडा नं. ११ युद्धनगरमा सञ्चालन गरिएको एक हप्ते कपडा हुने पाउडर (सरफ) तथा अगरबत्ति बनाउने तालिम सकिएको छ । ग्रिन तारा नेपाल, फेडो र रिड नेपालको संयुक्त आयोजनामा दलित तथा सिमान्तकृत परिवारका बिद्यालय जान नसकेका बालबालिकाका अभिभावकलाई लक्षित गरेर उक्त तालिम सञ्चालन गरिएको थियो ।
ग्रिन तारा नेपाल, फेडो र रिड नेपालको संयुक्त आयोजनामा रुपन्देही, कपिलबस्तु र पाल्पा जिल्लाका १५ बिद्यालयमा दलित तथा सिमान्तकृत समुदायका बालिकाहरुको शैक्षिक उपलब्धि प्रवद्र्धनकालागि कर्मठ बालिका परियोजना सञ्चालन गरिएको छ । तीन वर्षसम्म सञ्चालन हुने उक्त परियोजना मार्फत जातीय विभेद अन्त्यगरी र समतामुलक समाज निर्माण गर्न जनचेतनामुलक तथा स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गरिने फेडो रुपन्देहीकी अध्यक्ष मनु खड्काले जानकारी दिनुभयो ।
रुपन्देहीको बुटवल ११ को मायाँदेवी जनजाग्रिती आधारभूत बिद्यालय, कञ्चन गाउँपालिकाको वडा नं. ५ को ज्ञानोदय निम्न माध्यमिक बिद्यालय, देवदह १२ स्थित सिक्टहन माध्यमिक बिद्यालय र तिलोत्तमा नगरपालिका वडा नं. ३ को हाम्रो सगरमाथा तथा वडा नं. ४ को जनज्योती माबिमा उक्त परियोजना सञ्चालन गरिएको छ ।
मंगलबार आयोजित तालिमको समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले तालिममा सिकेका कुरालाई व्यबहारमा उतार्न र उद्यमशिलता अपनाउन सुझाव दिनुभयो ।
तालिमको समापन कार्यक्रममा मायाँदेवी जनजाग्रिती आधारभूत बिद्यालयका अध्यक्ष धनबहादुर गुरुङ, प्रधानाध्यापक माधव लोहोनी, तालिमका प्रशिक्षक शेखर मुखिया, साबि बिक लगायतले तालिमका सहभागिलाई उद्यमशिलता अवलम्बन गर्न र आफ्ना नानीबाबुलाई बिद्यालयमा पठाउन आग्रह गर्नुभयो । तालिममा दलिद तथा सिमान्तकृत समुदायका २० जना महिला सहभागि थिए ।