भ्रष्टाचार पुष्टिगर्न ज्ञानेन्द्र शाहीलाई चुनौती

483

भ्रष्टाचार पुष्टिगर्न ज्ञानेन्द्र शाहीलाई चुनौती

बुटवल, १७ असार । देवदह नगरपालिकामा मोटो रकम भ्रष्टाचार भएको आरोप लगाएका ज्ञानेन्द्र शाहीलाई देवदह नगरपालिकाले भ्रष्टाचार पुष्टि गर्न चुनौती दिएको छ । देवदह नगरपालिकाले मंगलबार नगरपालिकामा पत्रकार सम्मेलन गरि शाहीले भ्रम छर्ने काम गरेको भन्दै भ्रष्टाचार भए प्रमाणित गर्न चुनौती दिएको हो ।

सोमबार मात्रै शाहीले बुटवलको ट्राफिकचोकमा देवदह नगरपालिकामा २० करोड ८३ लाख ७२ हजार ३६८ रुपैंया भ्रष्टाचार भएको आरोप लगाउनु भएको थियो । महालेखा परिक्षकको कार्यालयले राखेको प्रतिवेदनमा उक्त रकम अन्य खर्चमा रहेको र अन्य खर्चमा राखिएको रकमलाई सोझै भ्रष्टाचार भन्नु गलत भएको बताउँदै भ्रम छर्ने काम गरेका शाहीलाई कानुनी उपचार खोजिने देवदहका नगर प्रमुख हिराबहादुर खत्रीले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

महालेखा परिक्षकको प्रतिवेदनको पृष्ठ नं. २३ मा उल्लेखित अन्य खर्चको शिर्षकलाई मनोगत रुपमा अतिरञ्जित गर्ने काम गरिएको बताउँदै उहाँले अन्य खर्चको विस्तृत विवरण प्रतिवेदन पृष्ठ १ मा उल्लेख गरिएको उहाँले जानकारी गराउनु भयो ।

जस अन्तरगतः सामाजिक सुरक्षा कार्यक्रम ६ करोड ५२ लाख ८ हजार ३२५ रुपैंया, एलजिसिडिपी कार्यक्रम चालु र पुँजीगत गरि ३१ लाख ७३ हजार, पशुसेवा कार्यक्रम ४२ लाख ४२३ रुपैंया, कृषि बिकास कार्यक्रम ३२ लाख ९३ हजार ९४५ रुपैंया, स्वास्थ्य कार्यक्रम २ करोड १४ लाख ५२ हजार ९३६, शिक्षा बिकास कार्यक्रम १० करोड ७० लाख ५५ हजार ४७४, महिला बिकास कार्यक्रम ८ लाख ७१ हजार ४ सय, सडक बोर्ड कार्यक्रम ४० लाख १६ हजार ८६५ गरी २० करोड ८३ लाख ७२ हजार ३६८ रहेको नगरप्रमुख खत्रीले जानकारी गराउनु भयो । यी सबै कार्यक्रमहरु नेपाल सरकारको शशर्त अनुदान अन्तर्गत सञ्चालित कार्यक्रम रहेको पनि उहाँले जानकारी गराउनु भयो ।

‘‘ज्ञानेन्द्र शाहीले आमनेसामने भई बहस र पुष्टि गर्ने अभिव्यक्ति दिएकोमा उक्त रकम मोजमस्तीमा खर्च भएको पुष्टि गर्न चुनौती दिन चाहन्छौं ।’’ नगरपालिकाले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘‘साथै समाजमा जननिर्वाचित प्रतिनीधि बिरुद्ध भ्रम फैलाई नीजि, सामाजिक र राजनीतिक जिवनमा आँच पु¥याउने तथा अविश्वासको वातावरण सीर्जना गर्ने गराउने कार्य विरुद्ध नगरपालिकाले कानुनी उपचार समेत खोज्नेछ ।’’