प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने विधेयक फिर्ता गर्न माग

571

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने विधेयक फिर्ता गर्न माग

बुटवल, १७ असार । संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक र सूचना प्रविधि विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने भएकाले तुरुन्त फिर्ता गर्न सरकारसंग माग गरिएको छ । यी दुवै विधेयक हुबहु पारित भए पत्रकारहरुले समाचार लेख्नै नसक्ने र लेखेमा जेल जानुपर्ने अवस्था आउने चिन्ता व्यक्त सञ्चार संवद्ध व्यक्तिहरुले दुबै विधेयक फिर्ता गर्न माग गरेका हुन् ।

नेपाल पत्रकार महासंघ रुपन्देही र चाँदनी नेपाले मगलबार बुटवलमा आयोजना गरेको मिडिया काउन्सिल र सूचना प्रविधि बिषयक सम्पादक स्तरीय छलफल कार्यक्रममा सरकारले ल्याएको विधेयकले पत्रकारलाई फौजदारी अभियोग मार्फत जेल हाल्न लागेको भन्दै आपत्ति जनाएका हुन् ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सभापति तारानाथ दाहालले पत्रकारलाई नियमन गर्ने नाममा फौजदारी मुद्धा लगाएर त्रसित बनाउने र प्रेस स्वतन्त्रतालाई कुण्ठत गर्न खोजेको बताउनु भयो । उहाँले गोपनियताको हक र गाली बेइजतीका नाममा फौजदारी अपराधका रुपमा लगेर संविधानकै विरुद्ध काउन्सिल र सूचना प्रविधि ऐन आएको बताउनु भयो ।

‘यो दुवै विधेयक हुबहु पारित भए प्रत्येक दिन पत्रकारलाई समात्न प्रहरी आउनेछ, त्यस्तो अवस्थामा स्वतन्त्र पत्रकारिता कसरी हुन्छ ?’ उहाँले प्रश्न गर्नुभयो ।
उहाँले मिडिया काउन्सिल विधेयकमा यसको गठन, अध्यक्ष देखि सदस्य नियुक्तिसम्म त्रृटि रहेको बताउँदै काउन्सिल विधेयकलाई गुप्तचर र अख्तियारको संख्या दिनुभयो । सजाय गर्ने र जेलसम्म हाल्न सक्ने गरि अदालतकै शैलीमा काम गर्ने अधिकार राखेर विधेयक मार्फत सरकारले काउन्सिलकै अपमान गरेको टिप्पणी गर्नुभयो ।

सूचना प्रविधि विधेयक र विज्ञापन सम्बन्धी विधेयकले सामाजिक सञ्जाल चलाए वापत र सम्पादकले विज्ञापनको सामाग्रीका आधारमा पनि दण्ड जरिवाना भोग्नुपर्ने वातावरणको सृजना गर्ने पूर्व अध्यक्ष दाहालले बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडीले प्रशासनिक प्रवृत्ति मिडियामाथि हावी हुँदा सरकारलाई नै बदनाम गराउने गरि काउन्सिल र सूचना प्रविधि विधयेक ल्याइएको बताउनु भयो ।

उहाँले गुठी विधेयक फिर्ता गर्ने सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता र प्रेसजगतलाई संकुचन गर्ने विधेयक सच्चाउनसम्म तयार नहुनु विडम्बना भएको उल्लेख गर्नुभयो । ‘सरकारले ल्याएको विधेयकका विरुद्ध झारा टार्ने खालको होईन, विधेयक फिर्ता ल्याउने गरि आन्दोलन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।

राससका पूर्व अध्यक्ष एबम् पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष बालकृष्ण चापागाईले लोकतान्त्रिक गणतन्त्र ल्याउनुमा सञ्चार क्षेत्रको ठूलो योगदान रहेपनि अहिले त्यसलाई सरकारले भुलेको बताउँदै सञ्चारसम्बन्धि विधेयक हुबहु पारित भए सरकार ढाल्ने गरि अर्को वैकल्पिक शक्ति उदाउने चेतावनी दिनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले प्रेस स्वतन्त्रता र पत्रकारमाथि हस्तक्षेप हुँदा पनि आस्थाका आधारमा पत्रकारहरु विभाजित हुनु दुर्भाग्य भएको बताउनु भयो ।

उहाँले पत्रकारले आलोचनात्मक चेत गुमाए दास बन्ने भन्दै मिडिया काउन्सिल विधेयकका विरुद्ध पत्रकारहरु एकजुट भएर विरोधमा उत्रनु पर्नेमा जोड दिनुभयो । यी विधेयक हुवहु कार्यान्वयन भएमा कार्यक्रममा आयोजक चाँदनी नेपालका कार्यकारी निर्देशक भवानीप्रसाद पाण्डे पत्रकारको पेशा नै धरापमा पर्ने बताउनु भयो ।