५६ प्रकारका तरकारीको नमुना परिक्षण

505

५६ प्रकारका तरकारीको नमुना परिक्षण

बुटवल, २७ असार । भारतबाट आयात हुने फलफूल तथा तरकारीमा विषादी अवेशेष परिक्षण नगरि नेपाल भित्र्याउन दिने सरकारको निर्णयलाई अदालतले उल्ट्याईदिएपछि प्रदेश पाँचको राजधानी बुटवलमा तरकारीको नमुना परिक्षण सुरु गरिएको छ ।

बुटवल कृषि उपज तथा थोकबजार केन्द्रमा रहेको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला इकाइ सुरु गरिएको नमुना परिक्षणमा आलुका २ वटा नमुनामा विषादी देखिएको र त्यसलाई पुनः परिक्षण गर्नुपर्ने प्रयोगशालाका बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले बताउनु भयो । आलुका दुबै नमुनामा ३६ देखी ४५ रुकावट प्रतिशत देखिएको उहाँले जानकारी दिनुभयो । शुक्रबार अपरान्हसम्म भारतबाट आयात भएका ५६ वटा तरकारीको नमुना परिक्षण गरिएको थियो ।

नमुना परिक्षणका क्रममा रुकावट प्रतिशत ३५ भन्दा कम आयो भने खान योग्य मानिन्छ । ३६ देखी ४५ प्रतिशत भयो भने दुई तिन दिन पछि पुन परिक्षण गर्नुपर्ने उहाँले बताउनु भयो । ४५ प्रतिशत भन्दा माथी देखिएमा खान अयोग्य हुने उहाँको भनाइ छ ।

प्रयोगशालामा अहिले धेरै जसो आलु प्याजको नमुना आइरहेको अधिकृत खत्रीले बताउनु भयो । थोरै संख्यामा हरियो तरकारी पनि आएका छन् । बुटवल कृषि उपज तथा थोकबजार केन्द्रमा विषादी मापन प्रयोगशाला राखिएको छ । प्रयोगशालामा भन्सारबाट सिफारिस भएका बाहेक कृषि उपज केन्द्रमा आएका तरकारीको नमुना लिएर पनि नियमित परिक्षण गर्ने गरेको छ ।

मंगलबारदेखि हालसम्म हरियो तरकारीको २६ वटा नमुना परिक्षण गरिएको छ । त्यसमा अहिलेसम्म खान योग्य नै भेटिएको छ । २०७४ साल पुसमा स्थापना भएको बुटवलको विषादी परिक्षण द्रुत विश्लेषण इकाइ चल्ने र विच विचमा बन्द हुने गरेको थियो ।

कर्मचारी समायोजन पछि २ महिना भन्दा बढी समय बन्द भएर मंगलबारबाट फेरी सुचारु भएको हो । विषादी मापन प्रयोगशालाको स्थापनादेखी हालसम्म ७०४ वटा नमुना परिक्षण भएकोमा १० वटा खान अयोग्य भेटिएको थियो । खान अयोग्य भेटिएका मध्ये स्वदेशी र भारतबाट आयातित दुबै रहेको अधिकृत खत्रीले बताउनु भयो ।

नियमित तर्फ दिनमा ५ देखी ७ वटा तरकारीको नमुना लिएर परिषण गरिरहेको उहाँको भनाइ छ । हाल प्रयोगशालामा २ जना मात्र कर्मचारी छन् । भारतबाट आयात हुने फलफूत तथा तरकारीको परिक्षण बुटवलमै हुने भएपछि सहज भएको बुटवल कृषि उपज तथा थोकबजार केन्द्रका अध्यक्ष कलाधर पन्थीले बताउनु भयो ।