यातायात क्षेत्र व्यवस्थित हुन्छ : मन्त्री गिरी

863

यातायात क्षेत्र व्यवस्थित हुन्छ : मन्त्री गिरी

बुटवल, २७ असार । प्रदेश पाँचका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले यातायात क्षेत्रलाई व्यवस्थित गरिने बताउनु भएको छ । बिगतमा कानुनको अभावमा यातायात क्षेत्रलाई उचित संबोधन गर्न नसकिएको भन्दै उहाँले प्रदेश सभाले अधिकांश कानुन बनाइसकेकाले अव यातायात क्षेत्रपनि व्यवस्थित हुने दावी गर्नुभयो ।

यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलको ४३ औं वार्षिक साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले दुर्घटना न्युनीकरण र दुर्घटना पछिको व्यवस्थापकीय भूमिकामा भलाई कोषले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । “दुर्घटना न्युनीकरण र क्षतिपुर्तीको विषय राज्यले अगाडि बढाउनुपर्ने हो, तर राज्यले गर्नुपर्ने काम भलाई कोषले गरेको छ”–मन्त्री गिरीले भन्नुभयो । यातायात मजदूरको क्षेत्रमा धेरै युवालाई रोजगारी प्रदान गरेर भलाई कोष जस्ता संस्थाले धेरै युवालाई विदेश जान रोकेको पनि उहाँले उल्लेख गर्नुभयो । मन्त्री गिरीले अहिले सरकारलाई चौतर्फी आक्रमण गर्ने प्रयास भैरहेको भन्दै व्यवसायी तथा मजदूरलाई सजग रहन पनि आग्रह गर्नुभयो ।

“भारतबाट विषादीयुक्त तरकारी परीक्षण गरेर मात्र आयात गर्ने सरकारले निर्णय ग¥यो, नागरिकले विषादीयुक्त खाद्य वस्तु सेवन नगरुन् भन्ने सरकारको मनसाय हो, तर कतिपयले विगतमा विषादी नै नभित्रिएको झैं गरेर सरकारमाथि नियोजित आक्रमण गरिरहेका छन् ।” मन्त्री गिरीले भन्नुभयो–“तर विषादी परीक्षणलाई निरन्तरता दिइने छ ।” उहाँले बढ्दो दुर्घटना कमगर्न जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नपनि यातायात सम्बद्ध संस्थाहरुलाई आग्रह गर्नुभयो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कोषका अध्यक्ष दिनेश फुल्लेलले सवारी साधनको वृद्धिसँगै दुर्घटनामा पनि वृद्धि हुँदै गएको र यसले थप चुनौती सिर्जना गरेको भन्दै चुनौतीलाई अवसरको रुपमा लिएर अघि बढ्ने उल्लेख गर्नुभयो । दुर्घटनापछिका घाइतेलाई महंगा अस्पतालमा उपचार गर्ने प्रवृत्तिले ठूलो धनराशी खर्च हुने गरेको र एउटै दुर्घटनामा पाँचलाख भन्दा बढी खर्च व्यहोर्नुपर्ने अवस्था कोषका लागि चुनौतीका रुपमा देखिएको उहाँले बताउनु भयो ।

कार्यक्रममा कोषका निवर्तमान अध्यक्ष नारायण भट्टराईले दुर्घटना न्युनीकरण पद हस्तान्तरण तथा पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले संस्थाको दीगो विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । आर्थिक रुपले नाजुक अवस्थामा पुगेको संस्थालाई आफूले अहिलेको अवस्थामा ल्याइपु¥याएको भन्दै संस्थाको दीगो विकासका लागि आफ्नो सदैव सहयोग रहने बताउनु भयो ।

कोषका पूर्व अध्यक्ष कुमार थापाले समयको माग अनुसार संस्थालाई अगाडि बढाउनु पर्ने बताउनु भयो । थुप्रै समस्या र चुनौतीको सामना गर्दै आएको कोषमाथि अहिले पनि थुप्रै चुनौती रहेको भन्दै थापाले चुनौतीको सामना गर्न सिंगो टिम एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष चिनबहादुर गुरुङ, नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारी, राप्ती यातायात प्रालिका सचिव नारायण न्यौपाने, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक रामप्रसाद शाह, काँग्रेसका युवा नेता विष्णु पोखरेल, सुरक्षित यात्रा अभियानका कृष्णप्रसाद बेलबासे, स्वतन्त्र यातायात मजदूर संगठनका अध्यक्ष कृष्ण कंडेल, मिडिया उद्यमी पृथ्वी फौदार, होटल व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, रोडा ढुंगा व्यवसायी संघका प्रदेश पाँच अध्यक्ष गोपाल ज्ञवाली, कोषका उपाध्यक्ष छविलाल थापा, महासचिव योग गुरुङ लगायतले भनाई राख्नुभएको थियो ।