पर्रोहा बोलबम धाममा श्रावणी मेला सुरू

460

पर्रोहा बोलबम धाममा श्रावणी मेला सुरू

बुटवल, ३१ असार । रूपन्देहीको सैनामैना नगरपालिका १ पर्रोहा रहेको ऐतिहासिक पर्रोहा बोलबम धाममा श्रावणी मेला तथा जलार्पण कार्यक्रम सुरू भएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रवहादुर कार्कीले श्रावणी मेला जलार्पण यात्राको उदघाटन गर्दै पर्रोहा बोलबम धामको विकास गर्न सके समग्र सैनामैना क्षेत्रकै धार्मिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ ।

उहाँले पर्रोहा बोलबम धामको नक्कल गरेर अन्यत्र पनि बोलबम जलार्पण गर्ने गरिएपनि पर्रोहा बोलबम धामको महत्व कसैले नक्कल गर्दैमा नघटने बरु बढ्ने बताउनु भयो । नगर प्रमुख कार्कीले बोलबम धामको थप विकास र विस्तारका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको विकास गर्न सके सैनामैनाको महत्व थप बृद्धि हुने उल्लेख गर्नुभयो । उहाँले संघीय, प्रदेश र स्थानीय सरकारको सहकार्यमा पर्रोहा बोलबम धामको विकासका लागि थप बजेटको व्यवस्था गरी यसको विकासमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा पर्रोहा बोलबम धामका संरक्षक ब्यासाचार्य किशोरकुमार गौतमले पर्रोहा बोलबम धामको महत्व अव राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय रुपमै बढ्ने र यसको प्रचार प्रसार हुने आफूले विश्वास लिएको बताउनु भयो । भारतका पूर्व विधायक कौशल सिंहले नेपालको यो बोलबम धाम भारतका लागि पशुपति नाथ धाम जत्तिकै पवित्र र ऐतिहासिक रहेको बताउँदै भारतका हजारौं तीर्थयात्री पर्रोहा धाममा आउने गरेको बताउनु भयो ।

कार्यक्रममा पण्डित विष्णु ज्ञवालीले पर्रोहा बोलबम धामको विकासका लागि यस क्षेत्रका स्थानीय जनताले गरेको योगदानको स्मरण गर्नुपर्ने भन्दै आगामी दिनमा धामको विकासका लागि सरकारले समेत सहयोग दिनुपर्ने धारणा राख्नुभयो । समाजसेवी फणेन्द्रप्रसाद शर्माले पर्रोहा बोलबम धामको विकासका लागि सवैले मन र बचनले प्रतिवद्धता जनाएमा धेरै काम हुने र यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो । पर्रोहा बोलबम धामका अध्यक्ष रामवली चौधरीको अध्यक्षतामा भएको उदघाटन तथा बोलबम यात्रा कार्यक्रममा बोलबम यात्राका संयोजक अर्जुन धमालले साउन महिनाभरी विभिन्न चार स्थानवाट जल उठाएर पर्रोहा धाममा जलार्पण गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

यसैवीच मंगलवारदेखि बोलबम यात्रा सुरु भएको छ । यात्राको पहिलो दिन कपिलवस्तुको ऐतिहासिक तथा पवित्र लक्ष्मणघाटबाट बुधवार विहान जल उठाएर दिउँसो पर्रोहा बोलबम धाममा आई जलार्पण गर्ने कार्यक्रम रहेको छ ।