विद्युतीय सवारीसाधन उपयुक्त विकल्प

1.3K

विद्युतीय सवारीसाधन उपयुक्त विकल्प

e recsaबुटवल/ पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रकाश अधिकारीले इन्धन प्रयोग हुने सवारी साधनले वातावरणमा प्रतिकूल असर पारेको र ब्यापार घाटा समेत बढाएकाले वातावरण संरक्षण र आत्मनिर्भरताका लागि अबको विकल्प विद्युतीय सवारी साधन नै हुनुपर्नेमा जोड दिनु भएको छ ।
इन्धन प्रयोग हुने सवारीसाधनबाट हुने वातावरण प्रदुषणले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्नुका साथै जलवायु परिवर्तनमा समेत नकारात्मक असर पारिरहेकाले त्यस्ता सवारीसाधन सञ्चालनलाई निरुत्साहित गर्नुपर्ने उहांको तर्क छ । लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघ रुपन्देहीले ई–रिक्सा चालकहरुलाई ट्राफिक सचेतना र दुर्घटना न्युनिकरण सम्बन्धी नवलपरासीको सुनवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रहरी उपरीक्षक अधिकारीले पछिल्लो समय भित्रिएको ई–रिक्सा वातावरणमैत्री, चालक र यात्रु दुबैलाई सहज यात्राका लागि उपयुक्त भएकाले यस्ता सवारी साधन सञ्चालनलाई सरकारले नै प्राथमिकता दिएको स्पष्ट पार्नु भयो । विगतमा ई–रिक्सा सञ्चालनमा अवरोध सिर्जना गरिएको भएपनि अब यसलाई वैधानिकता दिएर व्यवस्थित रुपमा निर्वाध चल्न दिनुपर्नेमा उहांले जोड दिनु भयो ।कार्यक्रममा लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघका महासचिव प्रेम थापाले बेरोजगारलाई स्वरोजगार र आत्मनिर्भर बनाउने र यो पेशामा महिला सहभागिता बढाउने संघको उद्देश्य रहेको बताउनु भयो । उहांले दुर्घटना रोक्न संघ संवेदनशील भएर नै ट्राफिक सचेतना प्रशिक्षण आयोजना गरेको र महिलालाई स्वरोजगार बनाउन यही मंसिर १५ गतेदेखि महिलालाई ई–रिक्सा चलाउन सिकाउने तालिम निःशुल्क संचालन गर्न लागेको जानकारी गराउनु भयो ।सुनवल, देवदह र बर्दघाट क्षेत्रका करिब सयजना चालक सहभागी कार्यक्रममा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक ज्ञानु पाण्डेले ट्राफिक नियमबारे प्रशिक्षण दिनु भएको थियो । लुम्बिनी ई–रिक्सा यातायात व्यवसायी संघ नवलपरासीका अध्यक्ष देव क्षेत्रीको अध्यक्षता, संघका वरिष्ठ सल्लाहकार रामप्रसाद लामाको स्वागत र सुरेश पुनको संचालनमा प्रशिक्षण कार्यक्रम भएको थियो ।
पछिल्लो समय ई–रिक्सा प्रति बढेको आकर्षणसंगै दुर्घटनाको समेत चुनौति बढेकाले चालकहरुलाई ट्राफिक नियमबारे जानकार बनाई दुर्घटना हुन नदिन चालकलाई प्रशिक्षण दिइएको संघले जनाएको छ ।