सवारी दूर्घटनाः प्रदेश पाँचमा ६२३ जनाको मृत्यु

585

सवारी दूर्घटनाः प्रदेश पाँचमा ६२३ जनाको मृत्यु

बुटवल, १२ साउन । प्रदेश पाँचमा आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आर्थिक वर्षमा प्रदेशमा दुर्घटनामा वृद्धि भएको छ । दुर्घटनामा वृद्धि भएसंगै मानिसको मृत्युको संख्या पनि बढेको छ । आर्थिक वर्ष २०७४/०७५ मा प्रदेशमा ८३५ वटा सवारी दुर्घटनामा परि ५२० जनाको मृत्यु भएकोमा गत आर्थिक वर्षमा दुर्घटना पनि बढेको र मानिसको मृत्यु संख्या पनि बढेको हो ।

प्रदेश पाँचका १२ जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा १ हजार २९ वटा सवारी दुर्घटनामा परि ६२३ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परि ९३३ जना गम्भिर घाईते भएका छन् । आर्थिक वर्ष २०७४÷०७५ मा प्रदेशमा १ हजार १८७ वटा सवारी दुर्घटनामा परेकोमा वितेको आर्थिक वर्षमा १ हजार ४४० वटा सवारी साधन दुर्घटनामा परेको प्रदेश ५ को ट्राफिक प्रहरी कार्यालय बुटवलका संचार संयोजक प्रहरी नायव उपरिक्षक रामप्रकाश शाहले बताउनु भयो ।

सवारी दुर्घटनामा परि ४४२ जना पुरुष ११९ जना महिला, ३२ जना वालक र ३० जना वालिकाको ज्यान गएको हो । जस अनुसार रुपन्देही जिल्लामा सवै भन्दा बढी र रुकुम जिल्लामा सवै भन्दा कम सवारी दुर्घटना हुने गरेको तथ्यांकले देखाएको छ । रुपन्देही जिल्लामा वितेको एक वर्षमा ३६८ वटा सवारी दुर्घटना भएको र १४३ जनाको ज्यान गएको छ ।

त्यस्तै पश्चिम नवलपरासीमा १५१ वटा दुर्घटनामा ७३ जनाको ज्यान गएको छ भने कपिलवस्तुमा २४१ व्टा दुर्घटनामा ८० जनाको ज्यान गएको छ । पाल्पामा ७५ वटा दुर्घटनामा ४० जनाको ज्यान गएको छ भने गुल्मीमा २९ दुर्घटनामा १९ जनाको ज्यान गएको छ । त्यस्तै अर्घाखाँचीमा २१ दुर्घटनामा १६ जना र दाङमा २५० वटा दुर्घटनामा परि १०४ जनाले ज्यान गुमाएका छन् ।

बाँकेमा १४२ वटा दुर्घटनामा ७१ जना र वर्दियामा ७६ वटा दुर्घटनामा परि ३३ जनाले ज्यान गुमाएका छन् । प्युठानमा ३२ वटा दुर्घटनामा १४ जना तथा रोल्पामा २८ दुर्घटनामा १५ जना र पुर्वि रुकुममा ९ वटा सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको प्रहरीको तथ्यांक छ । प्रदेशमा भएका दुर्घटनाको तथ्यांक अनुसार ६५५ मोटरसाईकल, १९० जिप÷कार, १३० बस, ११८ ट्रक÷टेंकर, ११८ ट्रयाकटर, ५७ टिप्पर, ५२ टम्पो र १५ वटा माईक्रोबस दुर्घटनामा परेका छन् ।

पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र प्रदेश पाँचको ट्राफिक प्रहरी कार्यालय बुटवलले सडक सभ्यता अभिबृद्धि एवं सवारी दुर्घटना न्युनिकरण, समुदाय प्रहरी साझेदारी कार्यक्रममा तथा ट्राफिक सप्ताह, चालक परिचालकलाई प्रशिक्षण, जनचेतनामुलक कार्यक्रम, विद्यार्थीलाई प्रशिक्षण गदै आएपनि कार्यक्रम गरेअनुसारका प्रतिफल प्राप्त हुन सकेको देखिदैन ।

प्रदेश पाँचको ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक मधुसुदन लुईटेलले पहाडी क्षेत्रमा विना ईन्जिनियरिङ डोजर चलाएर सडक निर्माण गर्नु, सवारी साधनको वृद्धि र कच्ची सडकको दुराअवस्था नै सवारी दुर्घटनाको प्रमुख कारण भएको बताउनु हुन्छ । दुर्घटनाको तथ्याकंलाई हेर्दा कच्ची सडकमा बढी दूर्घटना हुने गरेको समेत उहाँले बताउनु भयो ।

दुर्घटनाका वारेमा प्रदेश पाँचका आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले दुर्घटना न्युनिकरण र अपराध नियन्त्रणका लागि प्रदेशका ४२ महत्वपुर्ण स्थानमा सिसिटीभि जडान यसै बर्ष गरिने बताउनु भयो । त्यस्तै पाँच नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी नायव महानिरिक्षक सुरेशविक्रम शाहले नेपालका सडक सवारी मार्ग भन्दा पनि मृत्यु मार्गका रुपमा स्थापित हुदै गएकाले सरोकारवाला निकाय गम्भिर हुन जरुरी रहेको औल्याउनु भयो । प्रदेश पाँचमा ६ लाख ५५ हजार ३१९ वटा सवारी साधन संचालनमा छन् ।