मोटरसाईकल चोरी तथा बेचविखनमा संलग्न ७ जना पक्राउ

751

मोटरसाईकल चोरी तथा बेचविखनमा संलग्न ७ जना पक्राउ

बुटवल, १२ साउन । प्रहरीले मोटर साईकल चोरी गर्ने तथा चोरी गरेका मोटर साईकल बिक्रि गर्न सहयोग गर्ने समेत गरी ७ जनालाई पक्राउ गरेको छ ।

गत असार १६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ५ नापी कार्यालयबाट लु १९ प ८१७० नम्बरको होन्डा साईन मोटर साईकल चोरी भएको निवेदन जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार प्रहरीले अनुसन्धान गर्ने क्रममा रुपन्देहीकै लुम्बिनी सांस्कृत नगरपालिका ११ का अब्दुल हमिद मुसलमान र सुद्धोधन गाउँपालिका वडा नं. ६ का कालु मल्लाहलाई पक्राउ गर्यो ।

प्रहरीले उनीहरुसंग बयान लिने क्रममा रुपन्देही तथा भारतीय सिमावर्ती शहरमा मोटरसाईकल चोरी गर्ने र व्यक्तिहरुसंग मिलेर बेचविखन गर्ने बताएपछि बेचबिखनमा सहयोग गर्ने थप पाँच जनालाई पक्राउ गरेको हो । त्यसरी पक्राउ पर्नेमा रुपन्देहीको कञ्चन गाउँपालिका ५ का गगन गुरुङ, सम्मर बहादुर थापा, मानबहादुर भण्डारी, वडा नं. ४ का ओमप्रकाश रौतार र कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. १० का दिपक चौधरीलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले अनुसन्धानका क्रममा लु १५ प २१७१ को होण्डा साईन, लु १९ प ८१७० को होण्डा साईन, लु २१ प ६४३४ सुप स्पलेण्डर, लु ३५ प २१५५ सुपर स्पलेण्डर, लु २२ प ६९४८ सुपर स्पलेण्डर र लु २२ प ४३५५ प्रो स्पलेण्डर गरी ६ वटा मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले आईतबार जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

पक्राउ परेका व्यक्तिहरु तथा बरामद भएका मोटरसाईकलको थप अनुसन्धान अंगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनु भयो ।