पहिरो विस्थापितलाई तत्काल पुनर्बासको व्यबस्था गर्न सरकारको ध्यानाकर्षण

488

पहिरो विस्थापितलाई तत्काल पुनर्बासको व्यबस्था गर्न सरकारको ध्यानाकर्षण

बुटवल, १६ साउन । प्रदेश पाँचका प्रदेश सभा सदस्यहरुले बाढि पहिरोमा परि प्रभावित भएकाहरुको तत्काल व्यबस्थापन गर्न र किसानकालागि मलखाद तथा सिचाईको प्रवन्ध मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

गुल्मीको सत्यवती गाउँपालिकाको वडा नं. ३ र ४ मा अविरल वर्षाका कारण यहि साउनको ६ गते रातीको पहिरो गएको थियो । पहिरोमा परि १३ जनाको ज्यान गएको थियो भने ४५७ घर परिवार १ हजार २६० जना विस्थापित भएका छन् । बिहिबारको प्रदेश सभा बैठकमा बिशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्यहरुले उक्त पहिरोमा परेर विस्थापित भएकाहरुको जीवनयापन कष्टकर भएको र जोखिममा परेका घर परिवारको उचित व्यबस्थापन गर्न माग गरेका हुन् ।

त्यस्तै नेपाललाई कृषि प्रधान देश भनीएपनि कृषिकालागि किसानले मलखाद पाउन नसकेको र मलखादको अभावमा उत्पादनमा ह्रास आउने भन्दै तत्काल मलखादको व्यबस्थापन गर्न पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै प्रदेश सभा सदस्य बातावरण समितिका सभापति विजयबहादुर यादवले सम्मानित सभामा उठेका विषयलाई पनि सरकारले वास्ता नगर्ने गरेको आरोप लगाउँदै किसानकालागि मलखादको व्यबस्था हुन नसक्नुको जवाफ माग गर्नुभयो । त्यस्तै प्रदेश सभा सदस्य पुरनमान बज्राचार्यले रुपन्देहीको तिलोत्तमा नगरपालिका सडक डिभाईडरमा राखिएका बुद्धमुर्ति तोडफोड गर्नेलाई दण्डित गर्न माग गर्नुभयो । उहाँले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको दोभान क्षेत्रमा पहिरोका कारण सयौंले ज्यान गुमाउनु परेको र यात्रामा जोखिम मोल्नुपरेको बताउँदै यस्तो अवस्थामा रहेको सडक पनि सरकारको प्राथमिकतामा पर्न नसक्नुको कारण माग गर्नुभयो ।

त्यस्तै प्रदेश सभा सदस्य बिरबहादुर रानाले गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोका कारण विस्थापित भएका व्यक्तिहरुको जीवन कष्टकर रहेको बताउँदै कष्टकर जीवन बिताईरहेका बिस्थापितको उचित व्यबस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ४ भैरहवस्थानमा रहेको ऐतिहासिक भैरवस्थान मन्दिरमा मन्दिर व्यबस्थापन समितिले अनियमितता तथा आर्थिक हिनामिना गरेको बिषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रदेश सभा सदस्य रानाले असारे बिकासका कारण कागजमा देखिएको बित्तिय तथा पूर्वाधार बिकास स्थलगत रुपमा नभएको पनि आरोप लगाउनु भयो ।

प्रदेश सभा सदस्य ईन्द्रप्रसाद खरेल किसानलाई खेतीको समयमा मलखाद नपाउँदा समस्या भएको बताउँदै तत्काल मलखादको व्यबस्थापन गर्न आग्रह गर्नुभयो । अर्का प्रदेश सभा सदस्य दिनेश पन्थीले गुल्मीको प्रकोपका कारण विस्थापित ४५७ घर परिवारलाई आवास, खानेपानी, सौचालय व्यबस्था गर्न माग गर्नुभयो । उक्त पहिरोमा परि विस्थापित भएकालाई बिभिन्न बिद्यालयमा सेल्टर खडा गरि राखिएको छ । बिद्यालयमा पढाई सुचारु गर्नकालागि पनि बिद्यालयमा बनाईएका सेल्टर हटाउनु पर्ने भएकाले बिस्थापितलाई तत्काल आवास व्यबस्था गर्न सरकारसंग आग्रह गर्नुभयो ।

बैठकमा प्रदेश पाँचका समाजिक बिकास मन्त्री सुदर्शन बरालले गुल्मीको सत्यवतीमा गएको पहिरोको कारण बिस्थापित र मृतकका आफन्तहरुमा अहिलेसम्म कुनै प्रकारका स्वास्थ्य समस्या देखा नपरेको भएपनि अवका दिनमा मनोबैज्ञानिक त्रास उत्पन्न हुन सक्ने भएकाले मनोचिकित्सक लगेर उपचार गर्न प्रदेश सरकार लागिपरेको बताउनु भयो । उहाँले बिस्थापितलाई पुनःस्थापित गर्नकालागि सरकारले भूगर्वविद लगेर त्यहाको बस्तुस्थिती अध्ययन गरेर सुरक्षित आवास निर्माणकालागि जग्गा उपलब्ध गराउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो । विस्थापित भएकाहरुको पुनःस्थापना गर्नकालागि ठूलो रकम लाग्ने भएकाले प्रदेश सरकारले संघीय सरकारसंग समन्वय गरेर काम गर्ने बताउनु भयो ।

बैठकमा प्रदेश पाँचका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले ‘प्रदेश पदक सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गरियोस भन्ने प्रस्ताव र उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले ‘साझेदारी सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक’ र ‘प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यबस्था गर्न बनेको बिधेयक’माथि दफावार छलफल गरियोस भन्ने प्रास्ताव पेस गर्नुभयो ।

त्यस्तै आन्तिरिक मामिला तथा कानुन मन्त्री केसीले ‘प्रदेश नं. ५, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक’ सभामा प्रस्तुत गर्नुभयो । त्यसैगरी संसदीय समिति भौतिक पूर्वाधार तथा बिकास समितिका सभापति आशा स्वर्णकारले ‘सडक, सवारी यातायात तथा परिवहन सम्बन्धमा व्यबस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ सभामा पेश गर्नुभयो ।