गुणस्तरीय समाचारमा सम्पादकहरुको जोड

620

गुणस्तरीय समाचारमा सम्पादकहरुको जोड

बुटवल, १८ साउन । रुपन्देही र कपिलबस्तुका सञ्चार माध्यमका सम्पादकहरुले समाचारलाई गुणस्तरीय बनाउनु पर्नेमा जोड दिएका छन् । विगतका वर्षहरुमा भन्दा पछिल्लो समयमा प्रदेश तथा स्थानीय तहका मुद्धामा बढी समाचार आएको र ती मुद्धामा लेखिने समाचारको गुणस्तर अझै बढाउनु पर्नेमा उनीहरुको जोड छ ।

चाँदनी नेपालले शनिबार बुटवलमा आयोजना गरेको मासिक समाचार समिक्षा कार्यक्रममा औपचारिक कार्यक्रमका समाचारले बढी प्राथमिकता पाएको र अवका दिनमा अनौपचारिक तथा खोजी समाचारमा केन्द्रित हुनु पर्नेमा उनीहरुको जोड छ ।

कार्यक्रममा सहजीकरण गर्दै नागरिक दैनिकका एशोसियट सम्पादक तिलक पाठकले तुलनात्मक रुपमा रुपन्देही र कपिलवस्तुका सञ्चार माध्यममा स्थानीय समाचारहरु प्राथमितामा परेका कारण नागरिकको चासो र विश्वास बढेको बताउनु भयो । उहाँले दैनिक घटनाक्रम र कार्यक्रमका अतिरिक्त खोजमुलक समाचारले सञ्चार सस्थाको प्रतिष्ठा बढाउने र प्रिन्ट मिडियाको साख पनि खोजी समाचारसंग जोडिएको बताउनु भयो ।

त्यस्तै प्रदेश पाँच मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले स्थानीय तह र प्रदेश सरकारले गरेका कामलाई यथार्थपरक बिश्लेषण गरी सहि बाटोमा हिडाउने दायित्व सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसी, कपिलवस्तुका सभापति डिलाराम भुसाल, बुद्ध टेलिभिजनका कार्यकारी निर्देशक बिष्णु भुसाल, लुम्विनी टेलिभिजनका प्रमुख दिनेश पाण्डे, बुटवल टुडेका सम्पादक कृष्ण मल्ल, लगन मिडीयाका प्रमुख डायलसन अधिकारी, बिजनेस खवरका सम्पादक दामोदर खनाल, मेचिकाली दैनिकका सम्पादक अमृत गिरी, बुद्ध आवाजका सम्पादक पार्वती पाण्डे, तिलोत्तमा दैनिकका कबिन्द्र नेपाल, रेडियो मुक्तका म्यानेजर कल्पना तिवारी, रेडियो लुम्विनीका सम्पादक लक्ष्मण पौडेल लगायतले धारणा राख्नुभएको थियो ।

आयोजक संस्था चाँदनी नेपालका कार्यकारी प्रमुख भवानीप्रसाद पाण्डेले कार्यक्रमको बिषयबस्तुमाथि प्रकाश पार्नुभएको थियो ।