प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो

397

प्रदेश पदक सम्बन्धी विधेयकमाथिको छलफल लम्बियो

बुटवल, २० साउन । प्रदेशसभाको प्रदेश मामिला तथा कानून समितिको बैठकमा प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल लम्बिएको छ । प्रदेश प्रमुखको नाममा रहने प्रदेश प्रमुख जनसेवा पदक र मुख्यमन्त्रीको नाममा रहने मुख्यमन्त्री प्रज्वलदीप पदक राख्न आवस्यक छ कि छैन भन्ने विषयमा थप छलफल गर्नुपर्ने भन्दै बैठक लम्बिएको हो ।

पदक सिफारिस समितिमा कति जना रहने भन्ने विषयमा पनि छलफल जारी रहेकोले पनि छलफल लम्बिएको हो । सिफारिस समितिमा विधेयकमा व्यवस्था गरिएका भन्दा सदस्य संख्या थप्नुपर्ने भनि दुई जना प्रदेशसभा सदस्यहरुले संसोधन दर्ता गराएका थिए ।

प्रदेश प्रमुख राष्ट्रपतिको भूमिकामा भए पनि राष्ट्रपति जस्तो राजनीतिक व्यक्तित्व नभएर संघीय सरकारको प्रतिनिधिको रुपमा प्रदेशमा आएकोले प्रदेश प्रमुखको नाममा पदक राख्न उपयुक्त हुन्छ की हुदैन भन्ने विषयमा समिति सदस्यहरुबीच फरक फरक धारणा आएपछि सो विषय सोमबार टुंगिन सकेन ।

मुख्यमन्त्री आफैमा कार्यकारी र महत्वपूर्ण पद भए पनि मुख्यमन्त्रीको नामबाट पदक राख्दा आगामी दिनमा ७ सय ६१ स्थानीय तहले पनि प्रमुख र प्रमुख प्रशासकीय अधिकृतका नाममा पनि पदक स्थापना हुदै जाने अवस्था आउने र पदककै गरिमा घट्न सक्नेतर्फ समितिका एक सदस्यले ध्यानाकर्षण गराएका थिए ।

आइतबार देखि सुरु भएको विधेयकमाथिको दफावार छलफल पुन मंगलबार बिहान प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसीको उपस्थितीमा बसेर टुंगो लगाउने तयारी भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश प्रमुख जनसेवा पदक र मुख्यमन्त्री प्रज्वलदीप पदकको दिर्घकालीन असर के हुन्छ भन्ने बिषयमा सोच बिचार गर्नुपर्ने धारणा आए पनि ति पदक राख्नै हुन्न भन्ने कोणबाट भने कुरा नउठेको एक सदस्यले बताए ।

यसैबीच आजै प्रदेशसभाको अर्थ, उद्योग तथा पर्यटन समितिको बैठकमा पनि प्रदेश साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफल भएको थियो । सो विधेयकमाथि पनि आइतबारदेखिनै दफावार छलफल सुरु भएको छ ।