पहिरो प्रभावितलाई पुनर्बासकालागि अध्ययन शुरु

379

पहिरो प्रभावितलाई पुनर्बासकालागि अध्ययन शुरु

बुटवल, २१ साउन । गुल्मीको सत्यवतीमा पहिरोबाट बिस्थापितहरुलाई पुनर्बासको व्यवस्था मिलाउन प्राबिधिकको टोलीले अध्ययन सुरु गरेको छ । साउनको पहिलो साता पहिरो गएको सत्यवती गाउपालिकाको वडा नम्वर ३ र ४ को ठूलो लुम्पेक र लिम्घा गाउँका बिस्थापितलाई पुनर्बासको व्यवस्था मिलाउन जिल्ला प्रकोप व्यवस्थापन समिति मार्फत आएको इञ्जिनीयर र गाउपालिकाका कार्यपालिका सदस्यहरुको संयुक्त टोलले अध्ययन सुरु गरेको हो ।

टोली मंगलबार बिहानदेखि अध्ययन सुरु गरेको गाउपालिकाका अध्यक्ष पारेश्वर ढकालले जानकारी दिनुभयो । पहिरोमा परेर ठूलो लुम्पेक र लिम्घामा तीन वटा घरका १३ जनाको मृत्यु भएको थियो । दुई स्थानमा गएको पहिरोबाट ३०७ घर परिवार प्रभावित भएका छन् । सत्यवती गाउँपालिकाको वडा नम्बर ३ र ४ को ठूलो लुम्पेक र लिम्घा गाउँमा पहिरोले एक हजार २६० जना प्रभावित भएको गाउपालिकाका अध्यक्ष ढकालले बताउनुभयो ।

प्रभावितमध्ये १७ वटा घर, ६१ वटा गोठ र ३६ वटा शौचालय पूर्ण रुपमा क्षति भएको, १८ वटा घर, २३ वटा गोठ र १८ वटा शौचालयमा आंशिक क्षति पुगेको छ । पहिरोबाट २८ वटा भैंसी, एउटा गाई, ६७ वटा बाख्रा र १९ वटा बंगुर तथा २१९ वटा कुखुरा क्षति भएको छ । दुई स्थानमा पाँच सय बढी साना ठूला पहिरो गएको अध्यक्ष ढकालले बताउनु भयो ।

विस्थापित भएकालाई सोही गाउँपालिकाको धर्मपुर माध्यामिक विद्यालय, नवबिहानी प्राथमिक विद्यालय, धर्मपुर प्राथमिक विद्यालय, राम माध्यामिक विद्यालय, मनकामना प्राथमिक विद्यालय र साजपूर प्राथमिक विद्यालयमा तथा एउटा निजी फर्मको खाली जग्गामा राखिएको छ । बर्षे बिदा गरीएका बिद्यालय सञ्चालन गर्ने समय भएकाले बिस्थापितलाई पुनर्बासको व्यवस्था मिलाउन थालिएको अध्यक्ष ढकालले बताउनु भयो ।

यसैबिच बुटवल उद्योग वाणिज्य संघले गुल्मीमा गएको पहिरो प्रभावित परिवारलाई राहात सामाग्री वितरण गरेको छ । संघका अध्यक्ष खिमबहादुर हमालको नेतृत्वमा गएको टोली पहिरो प्रभावित क्षेत्र सत्यवतीको ठुलो लुम्पेकमा पुगेर राहत सामाग्रि हस्तान्तरण गरेको हो । सत्यवती गाउपालिका र वडा कार्यालयसंग समन्वय गरी संघले जेष्ठ नागरिक, बालबालिका र असक्तलाई सुत्नका लागि संघले डवल बेडका ३० थान फोल्डीङ खाट सहित चामल, आटा, चिउरा, दालमोट, सोयाबिन, बिष्कुट, भुजा, चाउचाउ हस्तान्तरण गरेको हो ।

त्यस अवसरमा बौल्दै गाउपालिका अध्यक्ष ढकालले तत्कालका खाद्य सामाग्रि सहित जेष्ठ नागरिक, बालबालिका र असक्तका लागि खाट उपलब्ध गराएकोमा संघ प्रति आभार व्यक्त गर्नुभयो । उहाले तत्कालका सामाग्रिहरु भन्दा दीगो व्यवस्थापनमा सहयोग पुग्ने सामाग्रि सहयोगका लागि पहल गर्न संघलाई आग्रह गर्नुभयो ।

संघका अध्यक्ष हमालले संघका पदाधिकारी, सदस्य तथा शुभेच्छुकहरुबाट प्राप्त सहयोगलाई संघले प्रभाबितहरुलाई सानो भएपनि सहयोग होसभन्ने उद्देश्यले राहत लिएर आएको बताउनु भयो । उहाँले गाउपालिका र स्थानीयको अपेक्षा अनुसार संघका सदस्य व्यवसायीहरु तथा अन्य सस्थाहरुलाई दीगो व्यवस्थापनका सामाग्रि सहयोगका लागि पहल गर्ने बताउनु भयो ।