सुकुम्बासी समस्या दीर्घकालीन समाधान हुन्छ : महासचिव पौडेल

593

सुकुम्बासी समस्या दीर्घकालीन समाधान हुन्छ : महासचिव पौडेल

बुटवल, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्यालाई दीर्घकालीन रुपमै समाधान गर्नेगरी सरकारले काम अगाडि बढाएको बताउनु भएको छ । उहाँंले मुलुकभरका सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या दीर्घकालीन रुपमै समाधान गर्नेगरी काम भईरहेको बताउनु भयो । उहाँले अव्यवस्थित वसोबासलाई व्यवस्थित गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताउनु भयो् ।

महासचिव पौडेलले छिट्टै उच्चस्तरीय आयोग गठन गरेर सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको समस्या समाधान गर्ने बताउनु भयो । उहाँले आयोगमार्फत भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको पहिचान गरिने बताउदै भन्नुभयो–‘‘भूमिसम्बन्धी ऐन संशोधन गरी बनेको विधेयक हाल संघीय संसधमा छलफलको चरणमा छ, विधेयकको टुंगो लागेपछि आगोग गठन गरी भूूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान गछौँ ।’’

महासचिव पौडेलले बुटवलको गौरवका रुपमा जितगढी किल्लाको विकास गर्नुपर्ने धारणा समेत राख्नु भयो । जितगढी किल्लालाई अन्तर्राष्ट्रिय महत्वको राष्ट्रिय सम्पदाका रुपमा विकास गर्नुपर्नेमा महासचिव पौडेलले जोड दिनु भयो । उहाँले तिनाउ पुल पुरानो अवस्थामा रहेकाले नयाँ निर्माण जरुरी रहेको र बुटवल–कोहलपुर सडक विस्तारको तयारी भइरहेको जानकारी समेत गराउनु भयो ।

बुटवल उपमहानगरपालिका वडा नम्बर २ को नव निर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तथा पूर्व अर्थ मन्त्री समेत रहेका महासचिव पौडेलले कोदाले र बिटौरी जग्गाको समस्या समाधानका लागि काम अगाडि बढिसकेको र केही समयमा नै समाधान हुने बताउनु भयो ।

कार्यक्रममा प्रदेश सांसद तथा पूर्व नगर प्रमुख भोजप्रसाद श्रेष्ठले बुटवल उपमहानगरपालिकाले नमुना काम गरिरहेको बताउदै बुटवललाई व्यवस्थित बिकास गर्दै लैजान सके नेपालकै नमूना स्थान बन्ने उल्लेख गर्नुभयो । त्यस्तै बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बुटवलको विकासका लागि प्राथमिकताका आधारमा योजना छनौट गरिएको भन्दै सेवाग्राहीलाई पनि सहज र छरितो सेवा प्रवाह गरिएको दाबि गर्नुभयो ।

कार्यक्रममा उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्य, वडा अध्यक्ष रमेश नेपाल, सदस्य खगिसरा गुरुङ, समाजसेवी महेश्वरप्रसाद श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो । एक करोड ४० लाखको लागतमा निर्माण भएको वडा नम्वर दुईको वडा कार्यालय तीन तलाको छ । नेकपाका महासचिब पौडेलले बुधबार नै वडा नं. २ मा करिव २० लाख रुपैयाको लागतमा निर्माण गरिने जेष्ठ नागरिक मिलन केन्द्रको समेत शिलान्यास गर्नुभएको छ ।