प्रचण्डको अभिव्यक्तिप्रति राजावादी संघ संस्थाद्वारा आपत्ति

939

प्रचण्डको अभिव्यक्तिप्रति राजावादी संघ संस्थाद्वारा आपत्ति

बुटवल, २२ साउन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शााहलाई नागार्जुन दरबारबाट निकाल्ने चेतावनी दिएको घटनाप्रति गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल, नागरिक संघर्ष समाज रुपन्देही लगायतका राजावादी संघ संस्थाहरुले आपत्ति जनाएका छन् ।

गोरक्ष राष्ट्रिय जागरण अभियान नेपाल, नागरिक संघर्ष समाज रुपन्देहीले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका राजनीतिक संयोजक रुपसिंह थापाले प्रचण्डको अभिव्यक्ति आतंकित मानसिकताको उपजको संज्ञा दिदै सो अभिव्यक्ति घोर आपत्तिजनक र खेदयोग्य भएको बताउनु भयो ।

राजनीतिक दलहरुको निर्णय स्वीकार गरेर नागार्जुन दरबारमा बसेका पुर्व राजा ज्ञानेन्द्रलाई दरबारबाटै जनताले लखेट्ने अभिव्यक्ति दिनु दुःखद भएको भन्दै उहाँले प्रचण्डलाई सच्चिन आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा नागरिक संघर्ष समिति रुपन्देहीका संयोजक वजिर थापाले ज्ञानेन्द्रलाई जनताले नागार्जुन दरबारबाट लखेट्ने नभएर प्रचण्डलाई आफ्नै कार्यकर्ताले लखेट्ने दिन आउने चेतावनी दिनुभयो । आफ्नै पुर्व कार्यकर्ता पदम कुँवरले गालामा थप्पड हानेको र पुर्व लडाकु लेनिन बिष्टले अन्तर्राष्ट्रिय अदालतमा मुद्धा हालेको स्मरण गराउदै उहाँले दरबारमा चुपचाप बसेका पुर्व राजा ज्ञानेन्द्रबिरुद्ध जथाभावी अभिव्यक्ति नदिन चेतावनी दिनुभयो ।

गोरक्ष राष्ट्रिय जागरण अभियान नेपालका राजनीतिक संयोजक रुपसिंह थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नागरिक संघर्ष समितिका सह संयोजक प्रदिप सेरचनले गर्नुभएको थियो ।