बुटवल, २४ साउन । तिलोत्तमा नगरपालिकाले आगामी असोजमा गर्ने तिलोत्तमा लगानी सम्मेलनमा प्रस्तुत गर्नकालागि १९ वटा परियोजना छनौट गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सञ्चालन गर्नकालागि १९ वटा महत्वाकांक्षि परियोजना प्रस्तुतीकालागि छनौट गरेको हो ।
तिलोत्तमा नगरपालिकाले कृषि उद्योग शिक्षा फोहोर मैला व्यबस्थापन, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी भित्र्याउनकालागि आगामी असोजको ९ गते तिलोत्तमा लगानी सम्मेलन आयोजना गरेको छ । उक्त लगानी सम्मेलनमा नगरपालिकाले प्रस्ताव गरेको औद्योगिक ग्राम, एकिकृत कृषि उत्पादन संकलन तथा प्रशोधन केन्द्र, एकिकृत फोहोर व्यबस्थापन, सिटि कलेज, बाल तथा महिला अस्पताल, एकिकृत ढाक्रेवास पर्यटकीय क्षेत्र, मासु प्रशोधन केन्द्र, प्रदेश पाँचको प्रादेशिक बसपार्क, विजनेश हब, रेलवे रिङ्रोड, स्मार्ट हाटबजार (तीन वटा), एकिकृत दुग्ध संकलन तथा प्रशोधन केन्द्रमा लगानी भित्र्याउनकालागि सम्मेलनमा प्रस्तुत गर्न लागिएको नगरप्रमुख बासुदेव घिमिरेले जानकारी गराउनु भयो ।
तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलनको बारेमा जानकारी गराउन शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा त्यसबाहेक स्मार्ट पार्किङ् स्थल, स्मार्ट बाल उद्यान (तीन स्थानमा) रोहिणी जलासय एकिकृत पर्यटकीय स्थल लगायतका १९ वटा परियोजना प्रस्तुत गर्ने तयारी गरिएको नगरप्रमुख घिमिरेले जानकारी गराउनु भयो । उहाँले त्यसबाहेक पनि लगानी सम्भावित परियोजनाहरु आएमा प्रस्तुत गरिने छ ।
एक दिने लगानी सम्मेलनमा नेपालका राष्ट्रिय स्तरका २ सय उद्योगी र बिदेशी ५० जना भित्र्याउने उहाँले बताउनु भयो । नगरप्रमुख घिमिरेले उक्त लगानी सम्मेलनबाट दुई अर्व बढी लगानी भित्र्याउने अपेक्षा गरिएको जानकारी गराउनु भयो । लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजनाका बारेमा लगानी कर्तालाई जानकारी गराउने तथा तिलोत्तमाका नीजि क्षेत्र र नेपाल तथा बाह्य मुलुकका नीजि क्षेत्र बिचमा नेटवर्किङ् बिकास गराउने अर्को महत्वपूर्ण पाटो रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलीगढ गरि ७ वटा गाबिस मिलेर २०७१ सालमा स्थापित तिलोत्तको बिकासकालागि अल्पकालिन र दीर्घकालिन योजना निर्माण गरिएको बताउँदै सिमिट बजेटकाकारण नीजि क्षेत्रको उपस्थितीलाई अझै व्यापाक बनाउन र बिकास साझेदार बनाउनकालागि लगानी सम्मेलन गर्नुपरेको नगरप्रमुख घिमिरेले बताउनु भयो ।
उक्त लगानी सम्मेलनको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम तय गरिसकिएको छ । उक्त कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख राजनीतिक दलका नेताहरु, सरकारका उच्च पदस्थ कर्मचारी, नेपाल स्थित बिदेशी कुटनीतिक नियोगका प्रतिनीधि, बिकास साझेदार संस्थाका प्रतिनीधिहरु गरि ५ सय बढी सहभागिता रहने बताईएको छ । लगानी सम्मेलनमा सम्झौता हुने परियोजनाकालागि कर छुट, एकद्वारा प्रणालीबाट सेवा प्रदान लगायतका बिषयलाई समेटिने पत्रकार सम्मेलनमा नगरप्रमुख घिमिरेले बताउनु भयो ।
करिव ३० लाख रुपैंया खर्चानुमान गरिएको उक्त तिलोत्तमा लगानी सम्मेलनकालागि चालु आर्थिक वर्षको बजेटमा नगरपालिकाले २० लाख रुपैंया बिनियोजन गरिएको र बाँकी १० लाख रुपैंया नीजि क्षेत्रबाट जुटाउने उहाँले जानकारी गराउनु भयो ।