बुटवल, २४ साउन । नेपाली काँग्रेस संघीय संसदका प्रमुख सचेतक तथा पूर्वमन्त्री बालकृष्ण खाँणले लोकतन्त्र खतरामा पर्दै गएको टिप्पणी गर्नुभएको छ । दुई तिहाई बहुमत प्राप्त भएको कम्युनिष्ट सरकार निरंकुश बन्दै गएको बताउँदै सामान्य आयोगहरुले संविधान विपरित काम गर्नु, गैरन्यायिक हत्या बढ्नु जस्ता कुराहरुमा पनि सरकारले कामकारवाही नगर्नुले सरकार निरंकुश बन्दै गएको पुष्टि भएको बताउनु भयो ।
नेपाल आदावासी जनजाती महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीले आयोजना गरेको २५ औं विश्व आदिवासी दिसवको मुल समारोहलाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका नेता खाँणले मुलुकको राष्ट्रियताको रक्षाकालागि आदावासी जनजातीहरुको ठूलो योगदान रहेको स्मरण गर्नुभयो । ‘‘नेपालको सिमा रक्षा गर्ने काममा आदिवासी जनजाति समुदायको ठूलो देन छ ।’’ उहाँले भन्नुभयो–‘‘नेपालको आफ्नै सिमा सुरक्षा बल नभएपनि नेपाली भूमि रक्षा गर्ने काम सिमामा बस्ने आदीबासी समुदायले गरेको छ ।”
उहाँले संसदीय समितिको निर्देशनलाई समेत वास्ता नगरेर संवैधानिक मर्म विपरित लोकसेवा आयोगले समावेसीताको सिद्धान्तलाई लत्याउनु दुःखद भएको टिप्पणी गर्नुभयो । नेपालको संविधान भित्र रहेर यहाँको विविधता र सहअस्तित्वलाई सबैले स्वीकार गर्नु पर्ने उहाँको भनाई थियो ।
उहाँले लोकतन्त्रनै खतरामा परेको दोहो¥याउँदै लोकतन्त्र नरहे पहिचानको आन्दोलनको कुनै औचित्य नहुने उल्लेख गर्दै उहाँले लोकतन्त्रको रक्षाकालागि पहिले सबै एक हुनु पर्ने र लोकतन्त्र बलियो भएपछि मात्रै पहिचानको खोजी गर्न सुझाव दिनुभयो ।
त्यस्तै प्रदेश पाँचका प्रदेश सभा सदस्य तुलाराम घर्ती मगरले संविधानले बहिष्करणमा परेका समुदायलाई आंशिक अधिकार मात्र दिएको बताउनु भयो । यसलाई कार्यान्वयन गर्दै बाँकी व्यवस्थाका लागि निरन्तर लाग्नुपर्ने बताउनु भयो ।
नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद् रुपन्देहीका अध्यक्ष शंकर गाहाको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति अभियन्ता सञ्जोग लाफा, फोनिज अध्यक्ष सनु थापा, नेफिन बुटवलका अध्यक्ष अरुणकुमार श्रेष्ठ, नेपाल मगर संघका जिल्ला अध्यक्ष गीता सारु, नेवा पुचः बुटवलका अध्यक्ष काजीमान श्रेष्ठ, वीरबहादुर तामाङ, चित्रलाल तुलाचन लगायतले बोल्नु भएको थियो । सो अवसरमा साहित्यकार देवेन्द्र शाक्य, गायक भक्तबहादुर थापा र डा. राजु लिम्बुलाई सम्मान गरिएको थियो ।