बुटवलमा पहिलो पटक गाईजात्रा प्रहसन हुँदै

909

बुटवलमा पहिलो पटक गाईजात्रा प्रहसन हुँदै

बुटवल, २८ साउन । काठमाण्डौ उपत्यका बाहिर पहिलो पटक बुटवलमा गाईजात्रा हुने भएको छ । ब्राण्ड वर्थ काठमाण्डौ र बुटवल जेसीजको आयोजनामा आगामी भदौ ४ गते बुटवलमा गाईजात्रा प्रहसन गर्न लागिएको हो ।

ब्राण्ड वर्थले आयोजना गरेको ‘प्रदेश प्रदेशमा गाईजात्रा २०७६’ को प्रदेश पाँचमा हुने गाईजात्रा प्रहसनको स्थानीय आयोजकका रुपमा बुटवल जेसीजले कार्यक्रम तयारी गरेको छ । तिलोत्तमाको योगीकुटी स्थित होटल पौवामा साँझ ५ बजेदेखि हुने कार्यक्रममा प्रदेश पाँचका मुख्यमन्त्री सहित सबै मन्त्रीहरु, उच्च ओहोदामा रहेका कर्मचारी, संघसंस्थाका प्रतिनीधिहरुलाई आमन्त्रण गरिएको मंगलबार बुटवल जेसीजले बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

भ्रष्टाचार, अनियमितता विरुद्ध व्यंग्यात्मक प्रस्तुती गरी जवाफदेहीता कायम गराउने उद्देश्यले प्रदेश पाँचको राजधानी बुटवलमा गाईजात्रा प्रहसन गर्न लागिएको बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले बताउनु भयो । बुटवलमा हुने गाईजात्रा प्रहसनमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी (मुलाको साग), रबि डंगोल, शिबशंकर रिजाल (जोगिन्दर), यमन श्रेष्ठ, पूर्ण थापा, सुवोध गौतम (एकदम सँले), सन्ध्या बुढा (काउली बुढी), सुमन कार्की, रुबिना अधिकारी लगायतका कालाकारको प्रस्तुती रहने बुटवल जेसीजका महासचिव राजिव गौतमले जानकारी गराउनु भयो ।

कार्यक्रममा सहभागि हुनकालागि सिंगल १ हजार र कपलको १ हजार ५ सय रुपैंया टिकट शुल्क निर्धारण गरिएको छ । करिव ४ सय जना सहभागि गराउने उक्त कार्यक्रमबाट बँचेको रकम असाहाय व्यक्तिको सहयोगमा खर्च गरिने बुटवल जेसीजका कोषाध्यक्ष अर्जुन ज्ञवालीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै बुटवल जेसीजका प्रमुख सल्लाहकार अनुपमान सैंजुले भ्रष्टाचारका कारण मुलुक जीर्ण बन्दै गईरहेको अवस्थामा भ्रष्टाचार र अनियमितता बिरुद्धको यो कार्यक्रमले जनचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै पूर्व अध्यक्ष गोपाल अधिकारीले बुटवलकालागि एकदम नौलो र उदाहरणीय कार्यक्रम भएको बताउँदै यसले भ्रष्टाचार तथा अनियमितता बिरुद्धमा जनचेतना फैलाउने बताउनु भयो ।

करिव ३ लाख रुपैंया संकलन हुने अपेक्षा गरिएको उक्त कार्यक्रम सम्पन्न गर्न २ लाख ५० हजार खर्च लाग्ने अनुमान गरिएको छ । कार्यक्रम सम्पन्न गरि बचेको पैसाबाट असाहाय व्यक्तिको सहयोगमा खर्च गरिने अध्यक्ष न्यौपानेले प्रष्ट्याउनु भयो ।