काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि नबढाए संसद बैठक अवरुद्ध गर्ने संकेत दिएको छ ।कांग्रेस नेतृत्वले शनिबार तराई मधेसबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा अधिकांश सांसदले तीन महिनाभन्दा बढी समयदेखि तराई मधेसमा आन्दोलन भएपनि समस्या समाधानप्रति वर्तमान सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।पार्टी नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव तत्काल अघि बढाउनु पर्ने उनीहरुको माग छ । कांग्रेसले केन्द्रीय समितिबाटै विधेयक अघि बढाउन दबाव दिने निर्णय गरिसकेको भन्दै उनीहरुले आइतबारको संसद बैठक अवरुद्ध गर्नु पर्ने माग गरेका छन् ।कांग्रेस सभासद रामकृष्ण यादवले भने-‘भोलि विहान ९ बजे संसदीय दलको बैठक बोलाइएको छ । यदि विधेयक अघि बढाएन भने संसदीय प्रक्रियामा रहेर दबावमुलक कार्यक्रम गर्छौं ।’तराई मधेसबाट प्रतिनिििधत्व गर्ने कांग्रेसका सांसदहरुले तराई मधेसमा आन्दोलन अझ सशक्त बनेको र देश नै प्रभावित भएको भन्दै हनिमुल डेका नाममा सरकारलाई १०० दिन दिन नसकिने बताएका छन् ।सांसद यादवले भने-‘घरमा आलो लागेको बेला, देश संकटको बेला हनिमुन डेका नाममा सरकारलाई एक सय दिन दिन सकिँदैन । पार्टीले समस्या समाधानका लागि दबाव दिनुपर्छ ।’संसदीय अभ्यासमा सामान्य अस्वथामा १०० दिनलाई सरकारको हनिमुन डेका रुपमा लिइन्छ र प्रतिपक्षले यो अवधिमा सरकारको विरोध गर्ने गर्दैछन् ।सांसद दिनेशकुमार परसैला यादवका अनुसार संविधान संशोधन प्रक्रिया अघि नबढे आइतबार सांकेतिक रुपमा विरोध गर्ने र अर्को दिनबाट रोष्टम घेराउ गर्ने अनलाइनखबरलाई बताए ।